सोमबार, ३१ बैशाख २०८१

बुढीनन्दा नगरपालिकामा युवा दिवसको अवसर पारी बक्तृत्वकला

बाजुरा : अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारी बुढीनन्दा नगरपालिकाले वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । युवाको वाककलाको विकास र क्षमता अभिवृद्धिका लागि पालिका स्तरीय वक्तृत्वकला आयोजना गरेको हो ।

१२ अगष्टलाई २४ औं अन्तर्राष्ट्रिय युवा दिवसका रुपमा मनाउने गरिएको छ । यो वर्षको नारा ‘दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ, नवप्रवर्तन र उद्यमशीलतामा हरित सिप विकास’ भन्ने तय गरिएको थियो ।

युवा दिवसकै नारामा आधारित पालिकाको केन्द्र कोल्टीमा वक्तृत्वकला आयोजना गरिएको हो । शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा पालिका भरिका माध्यमिक विद्यालय स्तरीय छात्र छात्रा खुला वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दयाराम जोशीले बताएका छन् ।

पाँच वटा विद्यालयबाट १० जना विद्यार्थीले प्रतियोगितामा सहभागि भएका थिए । सहभागि मध्ये जनप्रकाश माविका मार्सल देवकोटा प्रथम, नन्देश्वरी माविका अमृत शाही द्धितीय र सत्य मावि पाण्डुसेनका हेमन्त बोहरा तृतीय भएका छन् । 

यस्तै छात्रा तर्फ बाँधु माविका निरुता गिरी प्रथम, नन्देश्वरी माविका शैलेश्वरी जोशी द्धितीय र देवडाँडा माविका बेर्मा रोकाया तृतीय भएका छन् । विजेता सबैजनालाई नगद सहीत पुरस्कार प्रदान गरिएको निर्णायक समिति संयोजक प्रेम नेपालीले बताएका छन् ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दयाराम जोशीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथी नेकपा एमाले  सुदूरपश्चिम प्रदेश कमिटी उप–सचिव तथा निबर्तमान प्रदेश सभा सदस्य बल्देव रेग्मी रहनु भएको थियो ।

कार्यक्रममा नगर प्रवक्ता एवं ३ नम्बर वडाका अध्यक्ष जंगवीर रोकाष, ४ का अध्यक्ष जुल्फे रोकाया, २ का कार्यवाहक अध्यक्ष बिर्ख कार्की, नेकपा एमाले नगर कमिटी उपाध्यक्ष शुकवीर कडारा सहीत सरोकारावाल सहभागि थिए ।

संगीत शिक्षक मोती सुनारले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथी बल्देव रेग्मीले युवाको क्षमता र सीपले नै गाउँ समाजको विकासमा टेवा पुग्ने भएकोले युवा शक्तिलाई सही ठाउँमा प्रयोग गर्नु पर्ने बताएका छन् ।

युवा शक्तिले गरेको खाने भन्दा गरि खाने काम र क्षमतामा विश्वास गर्न आग्रह गरेका छन् । प्रविधी विकासलाई ध्यान दिन र स्वदेशमा पनि गरे संभव छ भन्ने मनोवल युवा शक्तिले राख्नु पर्नेमा रेग्मीले जोड दिएका छन् । सोही अवसरमा नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । 

संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । युवाका विषयहरू सम्बोधन गर्ने भन्दै विश्वभर सन् २००० देखि विश्वभर युवा दिवस मनाउन थालिएको हो । औपचारिक कार्यक्रम बाजुराका नौ वटा स्थानीय तह मध्ये बुढीनन्दा नगरपालिकामा मात्रै आयोजना गरिएको हो । 
 

प्रतिक्रिया दिनुहोस