शुक्रबार, २८ बैशाख २०८१

कालोबजारी बढेको जनगुनासो पछि बडीमालिका नगरपालिकाद्धारा बजार अनुगमन

बाजुरा : बडीमालिका नगरपालिकाले कालोबजारी र मनोमानी मूल्य वृद्धि गरेको जनगुनासो बढ्न थालेपछि बजार अनुमगमनलाई तिब्रता दिएको छ । पालिकाका अनुगमन समितिका संयोजक एवं नगर उप–प्रमख नन्दा कुमारी थापाको संयोजत्वको टीमले अनुगमन गरेको हो ।

गौमुल गाउँपालिकाको सिमा नजिक रहेको घट्मुना बजारमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा म्याद समाप्त भएका केही वस्तुहरु सोही ठाउँमा बरामद गरी नष्ट गरिएको छ । 

नगरपालिका भित्रका विभिन्न खाद्यान्न पसलहरुमा गरिएको अनुगमनको क्रममा म्याद नाघेका, चाउमिन अजिना, सोयामिन, लेबल नभएका विस्कुट, चाउचाउ, खाने तेल, मसला लगायतका खाद्यान्न वस्तुहरु जफत गरी नष्ट गरिएको र पसलका सञ्चालकहरुलाई अखाद्य वस्तु विक्री वितरण नगर्न अन्तिम चेतवानी दिइएको छ ।  

टोलीले उपभोक्ताको हितको लागि विक्रेताले पनि आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताउँदै बजारमा कालोबजारी, उपभोग हुने अखाद्य वस्तुहरुको विक्री वितरण भएमा आफुहरुलाई सूचना दिन पनि आग्रह गरेको छ । 

बडीमालिका नगरपालिका–२ का वडा अध्यक्ष डम्मर महतले अनुगमनको क्रममा फेला परेको अखाद्य वस्तुहरु नष्ट गरिएको बताउँदै अबदेखि अखाद्य वस्तुहरु विक्री वितरण नगर्न विक्रेताहरुलाई आग्रह गरेका छन् । 

अनुगमनको क्रममा फर्महरु (पसल) नवीकरण म्याद सकिएको, पसलमा मुल्य सूची देखिने गरी नराखिएको पाइएको कारण पसलका सञ्चालकहरुलाई तत्काल सबै प्रक्रिया पूरा गरेर मात्र व्यवसाय गर्न आग्रह गरिएको छ । 

बजार अनुगमनमा समितिका संयोजक एवं बडीमालिका नगरपालिकाका उप–प्रमख नन्दा कुमारी थापा, बडीमालिका नगरपालिका–२ का वडा अध्यक्ष डम्मर महत, जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा गोकर्ण रेग्मी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका सचिव रमित विक, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक दिप बहादुर रावल, नगरपालिकाका अधिकृत पुष्पराज भट्ट, कृष्ण खड्का लगायतको सहभागीता रहेको थियो । 

यसैबीच आज बडीमालिका नगरपालिका–९ मेलकाँधमा सोही टोलीले अवैध मदिरा बरामद गरी नष्ट गरिएको छ । करिव २० लिटर बढी घरेलु मदिरा संयुक्त बजार अनुगमन टोलीले नष्ट गरेको हो । बजार अनुगमन गर्ने बेलामा अवैध मदिरा समेत फेला परेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस