शुक्रबार, २८ बैशाख २०८१

बाजुरामा १० जनामा डेंगु रोगको संक्रमण, बुढीगंगाका टोलटोलमा सचेतना अभियान

बाजुरा : चार महिनाको अवधीमा बाजुरामा ६ जनामा डेंगु रोगको संक्रमण देखिएको छ । बाजुरा जिल्ला अस्पतालमा ३ र टाँटे स्वास्थ्य चौकी सहीत बुढीगंगा नगरपालिकामा ७ जना गरि १० जनामा डेंगु रोगको संक्रमण देखिएको हो । ल्याव जाँचका क्रममा १० जनामा डेंगु रोगको संक्रमण पुष्टी भएको हो । 

बैशाख यता मात्रै बाजुरा जिल्ला अस्पतालमा जाँचका लागि आउने विरामी मध्ये ३ जनामा डेंगुको संक्रमण देखिएको बाजुरा जिल्ला अस्पतालका मेडिकल ल्याव टेक्नोलोजिष्ट राम बिष्टले बताएका छन् । 

यता टाँटे स्वास्थ्य चौकी, बाह्विस स्वास्थ्य चौकीको ल्यावमा जाँचका लागि आएका विरामी मध्ये ७ जनामा संक्रमण पुष्टी भएको बुढीगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद जैशीेले बताएका छन् । डेंगु देखिएका १० मध्ये ४ जना बालबालिका रहेका छन् । बुधबार मात्रै बुढीगंगा नगरपालिकामा थप २ जनामा डेंगुको संक्रमण देखिएको छ ।

बजार क्षेत्रमा बढ्दो फोहरका कारण डेंगु रोगको संक्रमण बाजुरा पनि फैलिएको स्वास्थ्य कर्मीले बताएका छन् । डेंगु रोग लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । बाजुराका मार्तडी, कोल्टी, बाम्का लगायतका बजार क्षेत्रमा फोहरमैला व्यवस्थापन नहुँदा लामखुट्टेको संख्या बढ्दै गएको छ । 

गाउँमा समेत लामखुट्टेको संख्या वृद्धि भएको बुढीगंगा नगरपालिका ६ का वडा अध्यक्ष हेमराज जैशीले बताएका छन् । बुढीगंगा नगरपालिकाले डेंगुको संक्रमण फैलिएको र गाउँमा समेत धेरै मात्रामा लामखुट्टे देखिन थालेपछि सरसफाइ सहीतको सचेतना अभियान थालिएको नगर प्रवक्ता समेत रहेका जैशीले बताएका छन् ।

बुढीगंगा नगरपालिकाले १० वटै वडाका प्रत्येक टोलमा पुगेर सचेतना सन्देश प्रवाह गर्ने, फोहर मैला व्यवस्थापनमा ध्यान दिन दबाब दिने र लामखुट्टेको टोकाइबाट बच्ने उपाय बारे ज्ञान दिने गरि अभियान थालनी गरेको छ । त्यसको सुरुवाद बाम्का बजार क्षेत्र रहेको ६ नम्बर वडाबाट सुरुवाद गरिएको स्वास्थ्य शाखा प्रमुख जैशीले जानकारी दिएका छन् ।

६ नम्बर वडामा ६ वटा टोली बनाएर सरसफाइ अभियान नै सुरुवाद गरिएको छ । बाजुरा जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय बाजुरासँगको सहकार्य र सहयोगमा अभियान थालनी गरिएको बुढीगंगा नगरपालिका स्वास्थ्य शाखाले बताएको छ । डेंगुले उच्च सतकर्ताका लागि घण्टा बजाइसकेको र बेलैमा सचेत नभए थप जोखिम बढ्ने भएकोले समयमै सचेतनाका लागि पालिका स्तरबाटै अभियान थालनी गरिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले बताएका छन् ।

पहिलो बुढीगंगा नगरपालिका ६ को सारेदेउ टोलबाट सुरु गरिएको छ । पहाडी क्षेत्रमा लामखुट्टे देखिए पनि निकै कम मात्रामा देखिन्थ्ये, अहिले सबैभन्दा बढी लामखुट्टेकै संख्या देखिन थालेको अवस्था छ । गाउँ टोलमै लामखुट्टेको मात्रा बढेको अवस्था रहेकोले नागरिकलाई स्वास्थ्य शिक्षा दिन नगरपालिकाले टोल टोलमा स्वास्थ्य कर्मी खटाउने नगर प्रमुख रामबहादुर बानीयाँले बताएका छन् ।

टोलमै स्वास्थ्य कर्मी पठाएर बालबालिका, वृद्धवृद्धा, महिला पुरुष सबैलाई सचेतना शिक्षा दिने अभियान नै पालिका स्तरमा सञ्चालन हुने र सबैको सहभागिता र सहयोगका लागि पालिकाले नै अपिल गरेको छ । स्वास्थ्य सुरक्षाका लागि सबैले जिम्मेवार हुनु पर्ने सुझाव पालिका प्रमुखको छ । जनप्रतिनिधी स्वयम अभियानमा सक्रिय छन् । 

चिकित्सकहरुका अनुसार डेंगूको सङ्क्रमण भएमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, थकान महशुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाह्रो हुने, पेट तथा खुट्टा सुनिने जस्ता लक्षणहरु देखा पर्ने गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमामात्रै डेंगूबाट चार जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार डोटीका एक र कैलालीका तीन जनाको मृत्यु भएको हो । सुदूरपश्चिम प्रदेशमा हालसम्म एक हजार ७ सय बढी डेंगूका संक्रमित फेला परेका छन् ।  

May be an image of 9 people

प्रतिक्रिया दिनुहोस