शुक्रबार, २८ बैशाख २०८१

बाजुरामा पनि फैलियो आँखा पाक्ने रोगको संक्रमण

रोगको जोखिम बढेसँगै विद्यालय सञ्चालनमा चुनौति

बाजुरा : पछिल्लो समय देशैभरि फैलिएको आँखा पाक्ने समस्या (कन्जंग्टिवाइटिस) रोग बाजुरामा पनि देखा परेको छ । उपचारका लागि स्वास्थ्य संस्थामा आउने अधिकांश विरामीमा आँखा पाक्ने समस्या देखिने गरेको छ । बाजुरा जिल्ला अस्पतालमा समेत आँखाका रोगका बिरामीहरूको चाप बढिरहेको डाक्टर चेतबहादुर धामीले बताएका छन् ।

अहिले देशचभर आँखा अस्पतालमा आँखा जाँच गराउन आउने बिरामीमध्ये सरदर ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या देखिएको हो । देशैभरि अहिले कन्जंग्टिवाइटिसको प्रकोप बढिरहेको छ । बढी समस्या विद्यालय उमेरका बालबालिकालाई बढी देखिएको स्वास्थ्य कर्मीले बताएका छन् । 

गेटा आँखा अस्पताल धनगढीमा ७० प्रतिशत विरामी आँखा पाक्ने समस्या लिएर आउने गरेका छन् । आँखा पाक्ने समस्या भएका बिरामीहरूमा अकस्मात् आँखा रातो हुनु, आँखाको डिल सुनिएर हेर्न समस्या हुनु,आँखाबाट पानी बगिरहनु, आँखा चिलाउने, पोल्ने र बिझाउने हुनु, आँखामा पहेंलो चिप्रा आउनु, बिहान उठ्दा ढकनी एकआपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुनु आदि जस्ता लक्षणहरू देखिन्छन् । 

हरेक साल वर्षाको समयमा आँखा पाक्ने समस्या देखिने गरेको भएतापनि यो पटक प्रकोपकै रुपमा फैलिरहेको चिकित्सकहरूको भनाइ छ । सुरुवातमा भारतको सिमावर्ती क्षेत्रमा देखिएको यो समस्या अहिले देशैभरि फैलिएको छ । 

बाजुरामा पनि रोगको संक्रमण देखिएपछि स्थानीय त्रसित बनेका छन् । केही अभिभावकले विद्यालय बन्द गर्नु पर्ने माग समेत गरेका छन् । विद्यालय उमेरका बालबालिकामा झmनै प्रकोपका रुपमा रोग फैलिएको छ । निजि मेडिकलमा समेत ३० देखि ४० जना बढी आँखाका विरामी आउने गरेको आरसी मेडिकलका सञ्चालक रामचन्द्र यादवले जानकारी दिएका छन् । 

सबै उमेर समूहका व्यक्तिहरुमा संक्रमण देखिएको छ । सुरुमा एउटा आँखामा समस्या देखिने र पछि विस्तारै दुबै आँखा पाक्ने लक्षण देखिएको यादवले बताएका छन् । देशैभरि यो समस्या फैलिएपछि अहिले कतिपय स्थानीय तहहरुले त विद्यालय बन्दको निर्णय समेत गरिसकेका छन् । यस्तो समस्या देखिएका बिरामीहरूले नआत्तिई सावधानी अपनाउनु पर्ने चिकित्सकको सुझाव छ ।

आँखामा हेर्दैमा सर्छ भन्ने मान्यता गलत भएपनि सबैले आ आफ्ना लागि समेत र संयमता अपनाउनु पर्ने सुझाव स्वास्थ्य कर्मीको छ । यस्तो समस्या देखिएका बिरामीहरूले आँखा चिसोले तथा बरफले सेक्ने, सफा पानीले आँखा सफा गर्ने, घर बाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने, संक्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने गर्ने र बढी समस्या देखिए नजिकैको आँखा अस्पताल वा उपचार केन्द्रमा गई आँखा परिक्षण गर्न डाक्टर चेतबहादुर धामीको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस