शनिबार, २९ बैशाख २०८१

बाजुरा जिल्ला अदालतमा दर्ता भएका ९६ मध्ये ३२ सम्बन्ध बिच्छेदका मात्रै

बलात्कार र सम्बन्ध बिच्छेदका घटनामा वृद्धि

मिन बहादुर खड्का 
बाजुरा : जिल्लामा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै गएको देखिएको छ । जिल्ला अदालत बाजुरामा एक वर्षको अवधीमा दर्ता भएका मुद्दाको संख्या हेर्दा सबैभन्दा बढी सम्बन्ध बिच्छेदका मुद्दा मात्रै दर्ता भएका छन् ।

एक वर्षको अवधीमा दर्ता भएका ९६ वटा मुद्दा मध्ये ३२ वटा सम्बन्ध बिच्छेदका मात्रै रहेको जिल्ला अदालतको तथ्याकंले देखाएको छ । आर्थिक वर्ष २०७८÷७९ बाट सरि आएका ४२ बाहेक यो वर्षमात्रै ९६ वटा नयाँ मुद्दा दर्ता भएका छन् । पुराना र नयाँ गरि जम्मा १३८ मुद्दा मध्ये यो वर्षको असार मसान्तसम्म ९२ वटा मुद्दा फछ्यौट गगरिएको छ । ४६ वटा मुद्दा बाँकी छन् ।

ती मध्ये ७७ फौजदारी र ६१ देवानी प्रकृतिका दर्ता भएका हुन् । फछ्यौट भएका मध्ये ४९ देवानी र ४३ फौजदारी प्रकृतिका मुद्दा रहेको जिल्ला अदालत बाजुराले बताएको छ । थुनुवा प्रकृतिका ३५ मध्ये २० वटा किनारा लागि सकेका छन् । भने १५ फछ्यौट हुन बाँकी छन् ।

अदालतमा दर्ता हुने मध्ये आधा बढी पारिवारीक विवादका नै बढी छन् । विगतका वर्षभन्दा यो वर्ष सम्बन्ध बिच्छेद सहीत पारिवारीक विवादका मुद्दा बढी आउने गरेको अधिवक्ता हर्कबहादुर खडायतले बताएका छन् । अन्य मुद्दाको चाप नै छैन्, सम्बन्ध विच्छेद, श्रीमान श्रीमति बीचको झगडा, अंश वण्डा, बाल विवाह, बहुविवाह, बलात्कार र करणी प्रकृतिका मुद्दाहरु नै बढी छन्, खडायतले भन्नु भयो ।

 सम्बन्ध बिच्छेदका लागि दर्ता भएका ३२ मध्ये २७ फछ्यौट भइसकेका छन् । भने ५ हुनेक्रममा छन् । अंशवण्डाका मात्रै यो वर्ष १४ वटा मुद्दा दर्ता भएका छन् । ती मध्ये १२ वटा फछ्यौट भएका छन् । भने २ वटा बाँकी छन् । 

बहुविवाहका मात्रै ५ वटा मुद्दा दर्ता भएका छन् । १ फछ्यौट भएपछि ४ अझै बाँकी छन् । बाल विवाह २, सम्पत्ती सम्बन्धी ८ वटा मुद्दा दर्ता भएका थिए । ज्यान मार्ने कसुर अन्र्तगतका १८ वटा मुद्दा दर्ता भएका छन् । ती मध्ये १२ वटा फछ्यौट गरिसकिएको छ । ६ वटा मात्रै हुन बाँकी छन् । 

ज्यान मार्ने उद्योग सम्बन्धी ६ वटा, आत्महत्या दुरुत्साहन सम्बन्धी ८ मुद्दा दर्ता भएका थिए ।  ६ वटा फछ्यौट भइसकेका छन् । भने २ वटा बाँकी छन् । कर्तव्य ज्यानका १ मध्ये एक मात्रै बाँकी छ । 

 जवरजस्ती करणी सम्बन्धी २६ वटा मुद्दा दर्ता भएकोमा १८ वटा फछ्यौट भएका छन् । भने ८ बाँकी छन् । सम्बन्ध बिच्छेद पछि जिल्ला अदालतमा जबरजस्ती करणीका मुद्दा नै बढी दर्ता भएको देखिन्छ । पछिल्लो समय बलात्कार, जबरजस्ती करण, सम्बन्ध बिच्छेद र पारिवारीक हिंसाका घटना नै बढी आउने गरेको अधिवक्ता तुलाराम जैशीले बताएका छन् ।

सम्बन्ध बिच्छेदका घटना बढी दर्ता हुनुमा प्रविधीको विकास, वैदेशिक रोजगार र श्रीमानसँगको सम्पत्तीको आश नै देखिएको छ । बदलिएको कानुनी व्यवस्थाले पनि महिलाका पक्षमा सहज बनाइदिएपछि यस्ता घटनामा वृद्धि भएको अधिवक्ता गगन रावलले बताएका छन् ।

सानो जिल्लामा पनि एक वर्षमै यति ठुलो संख्यामा सम्बन्ध बिच्छेदका मुद्दा आउनु डरलाग्दो कुरा भएको अधिवक्ता गगन रावलको भनाई छ । कैलालीमा मात्रै यो वर्ष ४ सय बढी पुरुषले सम्बन्ध बिच्छेदका लागि उजुरी दिएका छन् । बाजुराको हकमा भने पुरुषको भन्दा बढी महिलाहरु नै सम्बन्ध बिच्छेदका लागि आउने गरेको पाइएको छ ।

वैदेशिक रोजगारका लागि विदेश बस्ने, आफूहरु जागिरका लागि घर छोडेर बाहिर गएका, घरमा एक्लै बसाएका र सानो उमेरमा बाल विवाह गरि पछि अर्कैसँगथ सम्बन्ध राख्ने समस्याले सम्बन्ध बिच्छेदका मुद्दा बढी दर्ताहुन थालेको निष्कर्ष कानुन व्यवसायीको छ । 

मुद्दाको चाप सामाजिक सद्भाव बिग्रीने गरि बढीरहेकोमा कानुन व्यवसायी पनि चिन्तीत छन् । उसोत अदालती प्रक्रिया पनि पुरुषका हकमा थप झन्झटीलो र महिलाका पक्षमा जस्तो लाग्नेहुँदा महिलाहरुले सानो विषयमा पनि उजुरी दिने गरेको पाइएको छ । अधिकांश मुद्दाहरु बार्गेनिगका लागि मात्रै दर्ता हुने गरेको देखिन्छ ।

सेवाग्राहीले पनि मुद्दा कार्यान्वयन गर्न ढिलाई भएको र पहुँच पावरका आधारमा सेवा प्रवाहको आशंका गरेका छन् । तारिख भनेको दिन नहुने, रोकिदिने, आफू अनुकुल गर्ने गरेको प्रति सेवाग्राही आक्रोशीत छन् । चुनावी वर्षका कारण पनि सक्नु पर्ने जति मुद्दाहरु फछ्यौट गर्न नसकिएको देखिन्छ ।

तर यता जिल्ला अदालत बाजुराका निमित्त कार्यालय प्रमुख श्रेष्टेदार गणेश सिंह साउँदले भने सेवाग्राहीले लगाएको आरोप मिथ्या मात्रै भएको प्रतिक्रिया दिएका छन् । न्याय सम्पादनमा अदालत प्रश्न उठाउने गरि फैसाल र सेवा प्रवाह नगर्नेमा ढुक्क हुन आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस