मङ्गलबार, ०३ चैत २०८२

मतदातालाई धन्यवाद दिन जनताको घरदैलोमा पुगे एमाले नेता

बाजुरा :  प्रतिनिधि सभा निर्वाचनमा पराजय व्यहोरेपछि पनि नेकपा एमाले बाजुराका नेताहरू जनताको घरदैलोमा पुगेका छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका एमाले केन्द्रीय सदस्य लालबहादुर थापाको नेतृत्वमा जिल्ला अध्यक्ष लालबहादुर ओलीसहितको टोली अहिले गाउँगाउँमा भेटघाटमा जुटेको छ।

पहिलो चरणमा जिल्लाका सबै पालिका केन्द्रमा भेटघाट तथा समीक्षा कार्यक्रम सम्पन्न गरी अब प्रत्येक जनताको घरदैलोमा पुग्ने अभियान सुरु गरिएको एमाले बाजुराले जनाएको छ। अभियानअन्तर्गत नेताहरूले जनताको सुझाव संकलन गर्ने, आगामी योजनाबारे छलफल गर्ने र चुनावमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्ने काम गरिरहेका छन्।

प्रतिनिधि सभा निर्वाचनमा थापा नेपाली कांग्रेसका नेता जनकराज गिरीसँग ५ सय ४० मत अन्तरले पराजित भएका थिए। चुनावमा पराजय भए पनि आफूहरू जनताको मनबाट पराजित नभएको भन्दै एमाले नेताहरूले जनताको साथ र विश्वासप्रति धन्यवाद व्यक्त गरिरहेका छन्।

नेताहरूले अहिलेको राजनीतिक परिस्थितिमा पुराना दलमाथि शैली र व्यवहार परिवर्तन नगरेको तथा जनताको जीवनस्तर सुधार्न नसकेको आरोप लाग्दै आएको स्वीकार्दै त्यसविरुद्ध लागेका भ्रम चिर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

पालिका स्तरमा आयोजित सुझाव संकलन तथा धन्यवाद सभामा एमाले नेताहरूले आफ्नो कार्यकालमा गरेका कामबारे जानकारी दिँदै आगामी दिनमा अझ सक्रिय भएर जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, आगामी स्थानीय तह तथा प्रदेश सभा निर्वाचनमा पार्टीलाई बलियो बनाउन कार्यकर्ताहरू एकजुट हुनुपर्ने उनीहरूको भनाइ छ।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले पनि यसपटकको निर्वाचनलाई सिकाइका रूपमा लिन नेताहरूलाई सुझाव दिएका छन्। उनीहरूले जनताको पक्षमा काम गर्न, जनताका मुद्दा उठाएर अघि बढ्न र विकास तथा सेवा प्रवाहमा ध्यान दिन आग्रह गरेका छन्। टोलीमा एमाले नेताहरु लालबहादुर थापा, लालबहादुर ओली, दयाल बहादुर शाही, देबु खाती, हिरा बहादुर रोकाया, राजेन्द्र बुढा सहीत छन् । 

प्रतिक्रिया दिनुहोस