मङ्गलबार, ०३ चैत २०८२

संरचना र उपचार सेवाले फेरियो कोल्टी आधारभुत अस्पताल

बाजुरा : कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालको संरचना पुरानो अवस्थाबाट परिवर्तन भई अहिले नयाँ संरचना सहित सञ्चालनमा आएको छ । अस्पतालमा बिरामीका लागि सहज उपचार सेवा उपलब्ध हुन थालेको छ ।

विगत तीन वर्षदेखि अस्पतालमा विशेषज्ञ डाक्टरसहितको सेवा सुरु भएको छ। यसअघि अस्पतालमा नियमित रूपमा डाक्टर नबस्ने अवस्था रहेको थियो। बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहरा निर्वाचित भएर आएपछि स्वास्थ्य सेवामा सुधार भएको स्थानीयले बताएका छन् । अस्पतालमा सेवा थपिएको छ भने डाक्टरहरू पनि नियमित रूपमा बस्न थालेका छन् ।

स्वास्थ्य शिविर तथा उपचार सेवाका कारण कुण्डा क्षेत्रका चारवटै हिमाली गाउँपालिका, स्वामिकार्तिक खापर र जगन्नाथ गाउँपालिकासहित मुगु, हुम्ला र कालिकोटका स्थानीयवासी पनि यहाँ उपचारका लागि आउने गरेका छन्।

अस्पतालका सूचना अधिकारी प्रेम नेपालीका अनुसार अस्पतालबाट दैनिक ६० देखि १ सय जनासम्म बिरामीले सेवा लिने गरेका छन्। सेवाको गुणस्तरका कारण कोल्टी अस्पताल स्थापित हुँदै गएको उनको भनाइ छ।

आगामी आर्थिक वर्षको साउन महिनादेखि निक्साइनको चिकित्सक टोली अस्पतालमा आउने तयारी भएको छ। विशेषज्ञसहित पाँच जना डाक्टर पाँच वर्षसम्म सेवा दिन आउने गरी सम्झौता भइसकेको छ र कार्यान्वयनको चरणमा पुगेको छ। चिकित्सकहरूको सेवा सुविधा निक्साइनबाटै उपलब्ध गराइने छ भने बसोबासको व्यवस्था नगरपालिकाले गर्ने जनाइएको छ।

यसैबीच, कोल्टी आधारभूत अस्पताललाई ५० शैयाको अस्पताल बनाउने लक्ष्यसहित संरचना विकासका लागि अमेरिकास्थित एक सामाजिक संस्थासँग पनि सम्झौता भइसकेको छ।

हाल अस्पतालको कार्यालय प्रमुखका रूपमा एमडिजिपी डाक्टर रञ्जीत कुमार शाह कार्यरत छन्। अस्पतालमा डेन्टल सेवा, एक्स–रे, ल्याब सेवा, सामान्य शल्यक्रिया तथा आकस्मिक प्रसूति सेवा उपलब्ध रहेको छ।

साउनदेखि सेवा दिन आउने चिकित्सक टोलीले अस्पतालको अवस्थाबारे अवलोकन गरी नगरपालिकासँग छलफल पनि गरिसकेको छ। टोलीले अस्पतालका बेड परिवर्तन गर्न, केही उपकरण सुधार गर्न तथा आवश्यक औषधि र सामग्री थप गर्न सुझाव दिएको छ।

पाँच वर्षसम्म सेवा दिन आउने उक्त टोलीले प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने र दुर्गम क्षेत्रका विपन्न स्थानीयवासीलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ।
 

प्रतिक्रिया दिनुहोस