बाजुरा : नेकपा एमालेका नेता तथा पूर्वमन्त्री कर्णबहादुर थापाले पपुलिजम र भ्रमको राजनीतिले देशलाई सही दिशामा लैजान नसक्ने बताएका छन्। बाजुरामा जारी चुनावी प्रचारका क्रममा उनले केही पपुलिस्ट समूहहरूले विदेशीको डिजाइन र आदेशमा नेपाल चलोस् भन्ने चाहना राखेर भ्रम फैलाइरहेको आरोप लगाए।
थापाले सिंगो देश बनाउने शक्तिमाथि आक्रमण भइरहेको उल्लेख गर्दै देशको शासन बलको नभई न्यायको हुनुपर्ने बताए। उमेरमा कान्छा देखिए पनि केही नेताहरूको सोच पुरानो रहेको उनको टिप्पणी थियो। “उनीहरूसँग परिवर्तनका एजेन्डा छैनन्, रिस, प्रतिशोध, आरोप र निराशा मात्रै छन्,” उनले भने।
बालेन शाहतर्फ संकेत गर्दै थापाले देश जलाउनेहरू नै ठूला कुरा गर्ने गरेको आरोप लगाए। “देश बर्बाद पार्नेहरूविरुद्ध लाग्नुपर्छ। केही भएकै छैन, केही बनेकै छैन, सबै समस्या मात्रै छन् भन्ने सन्देश दिनु गलत मानसिकता हो,” थापाको भनाइ थियो।
हावादारी गफ र पपुलिजमले देश नबन्ने भन्दै उनले नेपाललाई विदेशीको आदेशमा चलाउन खोज्नेहरूकै कारण देश बर्बादीतर्फ गएको दाबी गरे। “ढाँट र जालझेलको खेती धेरै भयो। देश अहिले सही दिशामा छैन, भीरतर्फ लगेर राखिएको छ,” उनले भने।
आगामी निर्वाचनले देशलाई भीरबाट सही बाटोमा ल्याउने अवसर भएको उल्लेख गर्दै थापाले एमाले बाहेक अरू कसैले त्यो नेतृत्व गर्न नसक्ने दाबी गरे। “देशलाई दुर्घटनाबाट जोगाउन एमालेको नेतृत्वमा सरकार बन्नु जरुरी छ,” उनले जोड दिए।
हाल थापा नेकपा एमाले बाजुराको चुनावी कमाण्डरका रूपमा जिल्ला व्यापी प्रचारमा सक्रिय छन्। बाजुराबाट एमालेका तर्फबाट लालबहादुर थापा उम्मेदवार रहेका छन्।
प्रतिक्रिया दिनुहोस