बुधबार, २१ माघ २०८२

लामो समयदेखि रोकिएको विद्युत् वितरण ठेक्का प्रक्रिया अघि बढाउन राष्ट्रिय युवा संघको माग

काठमाडौं :राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश अन्तर कमिटीले लामो समयदेखि रोकिएको विद्युत् वितरणसम्बन्धी ठेक्का प्रक्रिया तत्काल अघि बढाउन नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेको छ।

संघले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सम्बोधन गर्दै पत्रमार्फत EIB–W5 तथा ABC Cable – Bikoi Mantran सम्बन्धी ठेक्का प्रक्रियामा देखिएका विवाद, पुनर्मूल्यांकन तथा विभिन्न राय–सुझावका कारण प्रक्रिया लामो समयदेखि अवरुद्ध भएकोप्रति ध्यानाकर्षण गराएको हो।

पत्रमा ठेक्का प्रक्रिया रोकिँदा सुदूरपश्चिम प्रदेशका बाँके, बर्दिया, रुकुम पूर्व, रोल्पा लगायत दुर्गम तथा भौगोलिक रूपमा कठिन जिल्लाका नागरिकहरू प्रत्यक्ष रूपमा मारमा परेको उल्लेख छ। विद्युत् विस्तार अवरुद्ध हुँदा विकास मात्र नभई सेवा, सुरक्षा, शिक्षा, स्वास्थ्य तथा आर्थिक गतिविधिमा समेत गम्भीर असर परेको संघको भनाइ छ।

संघले ठेक्का प्रक्रियामा कानुनी र प्राविधिक पक्षबाट आवश्यक पुनरावलोकन भइसकेको अवस्था, अदालतबाट स्पष्ट प्रकृतिका राय आइसकेको पृष्ठभूमि तथा लामो समयसम्म निर्णय नहुँदा सार्वजनिक हितमा क्षति बढ्दै गएको विषयलाई मध्यनजर गर्न आग्रह गरेको छ।

सार्वजनिक हित, प्रभावित क्षेत्रका नागरिकको आवश्यक सेवा अधिकार तथा संस्थागत विश्वसनीयतालाई ध्यानमा राख्दै प्रचलित ऐन, नियम र अदालतको रायअनुसार ठेक्का प्रक्रिया अविलम्ब अगाडि बढाउन आवश्यक निर्देशन दिन संघले माग गरेको छ।

पत्रमा राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश अन्तर कमिटीका संयोजक करण भण्डारी हस्ताक्षर रहेको छ। भण्डारी नेतृत्वको टोलीले नै कार्यकारी प्रमुख शाक्यलाई बुझेर पत्र बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस