बाजुरा : स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुखहरूको प्रभावकारी काम, योगदान तथा सुकर्मलाई राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यसहित ‘शी लिड्स आइकन दोस्रो संस्करण अवार्ड समारोह तथा महिला जनप्रतिनिधि उत्सव’ आगामी मंसिर २२ गते काठमाडौंको अनुपम फुडल्याण्ड, बत्तीस पुतलीमा आयोजना हुने भएको छ ।
कार्यक्रम बिहान ११ बजे उद्घाटन गरिने आयोजक कल्प इम्पावर वुमेन नेपालले जानकारी दिएको छ । आयोजकका अनुसार निर्णायक मण्डलले चयन गरेका प्रेरणादायी महिला जनप्रतिनिधिलाई सम्मान गरिनेछ भने तीमध्ये उत्कृष्ट सात जनालाई ‘शी लिड्स आइकन(२०८१’ घोषणा गरी विशेष सम्मान प्रदान गरिनेछ ।
संस्थाकी अध्यक्ष पूजा कोइरालाका अनुसार यस वर्षको संस्करण विशेष रूपमा महत्वपूर्ण रहने भएको छ । समारोहमा नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी, प्रथम महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, प्रथम महिला सभामुख अन्सारी घर्ती मगर, प्रथम महिला प्रदेश प्रमुख अनुराधा कोइरालासहित विभिन्न क्षेत्रका अग्रणी महिलाहरूको उपस्थित रहनेछ ।
कार्यक्रममा स्थानीय सरकारले सेवा, योजना तथा उत्पादन सम्बन्धी स्टल राखी जनप्रतिनिधिले परिचालित काम, योजना र उपलब्धिहरू प्रस्तुत गर्नेछन् । महिला उद्यमीहरूले आफ्ना उत्पादन तथा सेवाहरू प्रदर्शन गर्ने व्यवस्था पनि गरिएको छ । यस्तै, महिला नेतृत्व, राजनीतिमा सहभागिता तथा उद्यमशीलतामा महिलाको भूमिकाबारे बहस, छलफल र प्यानल डिस्कसन समेत हुनेछ ।
प्यानलमा नेपाल उद्योग वाणिज्य महासंघकी प्रथम महिला अध्यक्ष भवानी राणा, महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञावाली, इनड्राइभ नेपालकी रिता पोखरेल, साथै शी लिड्स आइकनको पहिलो संस्करणका विजेताहरू सहभागी हुनेछन् ।
अध्यक्ष कोइरालाले यो कार्यक्रम ३० वर्षभन्दा कम उमेरका युवाको नेतृत्वमा सञ्चालन भइरहेको बताउँदै, कुनै पनि दातृ निकायको सहयोग बिना संस्थाले निरन्तर सामाजिक नेतृत्व विकासका कार्यक्रम अघि बढाउँदै आएको उल्लेख गरिन् । उनका अनुसार, “नेपालमै बसेर केही गर्न सकिन्छ” भन्ने सन्देश स्थापित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस