शनिबार, २० मङि्सर २०८२

जिल्ला परियोजना सल्लाहकार समिति बैठक : उपलब्धीमा ध्यान दिन सुझाव

बाजुरा : किशोरीहरुको अधिकार र उत्थानशिलताका लागि आभा परियोजनाको समीक्षा गरिएको छ । जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा परियोजनाले एक वर्षको अवधीमा गरेको काम र योजना बारे छलफल सहीत आगामी योजना बारे छलफल गरिएको हो ।

प्लान ईन्टनेशनल नेपालसँगको साझेदारी र पीसविन नेपालसँगको समन्वयमा सञ्चालिन आभा परियोजना जिल्लाका बडीमालिका, बुढीगंगा, त्रिवेणी नगरपालिका र गौमुल गाउँपालिकामा सञ्चालित छ । किशोरीको आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्न, यौन तथा प्रजनन स्वास्थ्य सेवा र परामर्श दिन, शिक्षा र आर्थिक सशक्तिकरण गराउने र हिंसा रोकथाम तथा मनोसामाजिक सहयोग गराउने परियोजनाले काम गरिरहेको छ ।

कामका क्षेत्र, सञ्चालित कार्यक्रम र संस्थागत परियोजना बारे प्लान इन्टरनेशनल नेपालका कार्यक्रम व्यवस्थापक लालबाबु प्रसाद कुशवाहले जानकारी गराएका थिए । जिल्ला समन्वय समिति प्रमुख एवं जिल्ला परियोजना सल्लाहकार समिति संयोजक तुलसीराम रोकायाको अध्यक्षमा बैठक बसेको हो ।

सबै सरोकारवाला निकाय सहभागि बैठकले राज्यको कामलाई थप प्रभावकारी र सहयोगी भूमिकाको रुपमा काम गरिरहेका गैर सरकारी संस्थाहरुले समाजलाई बलियो र शसक्त बनाउने गरि काम गर्न सुझाव दिएका छन् ।

जिल्ला शिक्षा तथा समन्वय इकाइ प्रमुख टिकाराम जोशीले पीसविन नेपालले छाया शिक्षा कार्यालयको भूमिका काम गरिररहेकोमा प्रशंशा गरेका छन् । हाम्रो आधा बढी काम नै पीसविनले गरिरहेको रैछ, विद्यालयका भवन नै एक सय बढी बनाएको तथ्याकं हेर्दा निकै खुसी लाग्यो, सहकार्य र समन्वयका साथ अघि बढेर समाज विकासमा सबैको जिम्मेवार योगदान रहनु पर्नेमा जोशीले जोड दिएका छन् । 

गैर सरकारी संस्था महासंघका अध्यक्ष कृष्ण अधिकारीले लगानीलाई परियोजना केन्द्रीत नगरेर, दीगो विकास र जीवन सुधारका लागि निर्णायक उपलब्धी देखिने गरि काम गर्नु पर्नेमा जोड दिएका छन् । 

प्लान ईन्टनेशनल नेपालसँगको साझेदारी र पीसविन नेपालसँगको समन्वयमा सञ्चालिन किशोरीहरुको अधिकार र उत्थानशिलताका लागि आभा परियोजना अझै चार वर्ष सञ्चालनमा रहने छ । भने थप त्रिवेणीमा महिला विकास मञ्चसँगको सहकार्यमा स्पोन्सर कार्यक्रम पनि सञ्चालन भइरहेको छ । 

परियोजनाले हालसम्म त्रिवेणीका मात्रै ३ सय १९ जना बालबालिकमा प्रत्यक्ष सहयोग गरेको देखिएको छ । भने पाँच वर्षको अवधीमा ४० हजार बढीको संख्यामा पुग्ने लक्ष्य राखेको छ । यो वर्षमात्रै २ करोड ११ लाख ७१ हजार ७ सय ९५ रुपैया बाजुराका चार पालिकामा लगानी गरेको छ । 

सबल बालिका, सबल समुदाय भन्ने आदर्श भनाइका आधारमा काम गरिरहेको संस्थाले बाजुराको विकास र सामाजिक रुपान्तरणमा ठूलो योगदान पुर्याउने विश्वास आफूले लिएको जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले बताएका छन् । समन्वय समितिको सभा हलमा आयोजना गरिएको बैठकमा पीसविन नेपालका कार्यक्रम प्रबन्धक धर्मबहादुर रोकायाले सरकारी पक्षले गैर सरकारी क्षेत्रलाई पनि आफ्नै साझेदारको भूमिकामा परियोजना कार्यान्वयनमा सहयोग गरेको बताएका छन् ।

परियोजनाले किशोरी शिक्षा सञ्चालन र क्लब गठन, किशोरी सशक्तिकरण र विद्यालयमा सिकाइ वृद्धिका लागि उपचारार्थ कक्षा, तीन समूहको उद्यम विकास तालिका र लगानी सहयोग, अभिभावक कक्षा र शैक्षिक तथा खेलकुद सामाग्री सहयोग, विद्यालयको भौतिक पूर्वाधार विकासमा साझेदारी लगायतका क्षेत्रमा काम गरिरहेको छ ।

प्लान इन्टरनेशनलका परियोजना संयोजक महेश नेपाली, समन्वय उपप्रमुख लाछु सार्की, समन्वय सदस्य हिक्मत थापा, समन्वय अधिकारी दिपेन्द्र पाण्डे, अन्य सरोकारवाला सहीत सहभागि थिए । बैठकको सञ्चालन जिल्ला समन्वय कार्यालयका रामचन्द्र पाण्डेले गरेका हुन् । 
 

प्रतिक्रिया दिनुहोस