शनिबार, २० मङि्सर २०८२

बुढीनन्दामा छैटौं राष्ट्रपति रनिङ शिल्ड सुरु, कोल्टीमा बढ्यो खेलको रौनक

बाजुरा : बुढीनन्दा नगरपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड कोल्टीमा सुरु भएको छ । कोल्टी स्थित जनप्रकाश माविको खेल मैदानमा शिल्ड सुरु भएको हो । खेलबाट पालिका स्तरीय प्रतिस्पर्धा गराएर जिल्ला स्तरीय खेलका लागि खेलाडी छनौट गरिने छ ।शिल्डको नेकपा एमालेका नेता तथा पूर्व प्रदेश सभा सदस्य बल्देव रेग्मीले उद्घाटन गरेका हुन् ।

सबै राजनीतिक दल र सरोकारवाला निकाय सहीत भव्य तयारीका साथ खेलको उद्घाटन गरिएको छ । जनक कुमार बोहरा पालिका प्रमुखको भूमिकामा आएदेखि उहाँको टिमले खेलकुदलाई बिशेष प्राथमिकता दिएको छ ।

२ वर्ष पहिला कोल्टीमा सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी नै बुढीनन्दाले हात पारेको थियो । घरेलु मैदानमा पहिलो बनेको बुढीनन्दा त्यस पछि बुढीगंगामा सम्पन्न  खेलमा भने केही अंकले पछि पर्दै द्धितीय भएको हो ।

खेल संगीत शिक्षक नै नियुक्ती गरेर सबै प्रकारको शैक्षिक सिकाइमा लगानी गरिरहेको पालिकाले शिल्ड उद्घाटनलाई भव्य बनाएको छ । पालिका प्रमुख जनक कुमार बोहराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा एमाले नेता बल्देव रेग्मी सहीत उपप्रमुख रामबहादुर बोहरा, नेपाली काँग्रेस, नेकपा, राप्रपा सहीतका दलका प्रतिनिधी पनि सहभागि थिए ।

दश वटै वडाका अध्यक्ष, कार्यपालिका सहीत जनप्रतिनिधी कर्मचारीहरुको पनि सहभागिता रहेको थियो । पालिकाका जनप्रकाश मावि कोल्टी, सत्य मावि पाण्डुसैन, देबडाडाँ मावि, बाँधु मावि र नन्देश्वरी मावि शिल्डमा सहभागि छन् । 

प्रतियोगिता सहआयोजकको जिम्मेवारी पाएको जनप्रकश माविका तर्फबाट लोकराज रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए । काता प्रर्दशन देखि देउडा खेल, साँस्कृतिक प्रस्तुतीहरु प्रर्दशन गरिएको थियो । खेल २ दिनसम्म चल्ने बताइएको छ । 

खेल उद्घाटन समारोहमा बोल्ने नेताहरुले खेल जीवन नै सबैभन्दा सम्मानीत र सभ्यताको आधार भएको बताएका छन् । देश र स्वयम व्यक्तिको परिचय स्थापित गर्न पनि खेल क्षेत्रले महत्वपूर्ण योगदान पुर्याउने भन्दै उहाँहरुले पालिकाले खेल क्षेत्रमा लगानी लगाउनु पर्नेमा जोड दिएका छन् ।
 

प्रतिक्रिया दिनुहोस