बुधबार, १० मङि्सर २०८२

खप्तड छेडेदह गाउँपालिका–२ जयवागेश्वरी बालविवाह शून्य वडा घोषणा

बाजुरा : कुनै बेला सत प्रतिशत बाल विवाह हुने खप्तड छेडेदह गाउँपालिका–२ लाई बालविवाह शून्य वडा घोषणा गरिएको छ । पालिकामा रहेका ७ वटा वडा मध्ये २ नम्बर जयवागेश्वरीलाई पहिलो वडाका रुपमा बालविवाह शून्य वडा घोषणा गरिएको हो ।

खप्तड छेडेदह गाउँपालिका १ र २ काँडा र जयवागेश्वरीमा २०७६ सालसम्म पनि सत प्रतिशत बाल विवाह हुने गरेको तथ्याकं छ । 
गाउँपालिका र गैर सरकारी संस्थाका साथै समुदायको सचेतना स्तरमा आएको सुधार पछि केही वर्षमै बालविवाह शून्य अवस्थामा पुगेको हो ।

२ नम्बर वडाका सबै टोल र बस्तीमा गएको २ वर्षदेखि कुनै पनि बालविवाह नभएको पालिकाले बताएको छ । बालविवाह गर्नेको संख्या नै नभएपछि पालिकाको पहिलो वडाका रुपमा बालविवाह शुन्य वडा घोषणा गरिएको अध्यक्ष दीलबहादुर रावतले बताएका छन् ।

अध्यक्ष रावतले नै औपचारिक कार्यक्रमका बीच वडालाई बालविवाह शून्य वडाका रुपमा घोषणा गरेका हुन् । वडा स्तरीय कार्यक्रम आयोजना गरि औपचारिक घोषणा गरिएको हो । २० वर्ष उमेर समूह भन्दा अगाडि कोही कसैलेपनि विवाह नगरेको पाइएको छ । 

बालविवाह न्यूनिकरण र किशोरी सशक्तिकण सम्बन्धी पालिकासँगको सहकार्यमा महिला विकास मञ्चले सचेतना मुलक कार्यक्रम सञ्चालन गरिरहेको छ । पालिका र महिला विकास मञ्चकै सहकार्यमा वडालाई बालविवाह शून्य वडा घोषणा गरिएको हो । घोषणा कार्यक्रमको संयोजन वडा स्तरीय बाल सञ्जालले गरेको थियो ।

हाल पालिका र वडा स्तरीय बाल सञ्जाल, महिला विकास मञ्च, गाउँपालिका महिला बालबालिका तथा जेष्ट नागरिक शाखाले बालविवाह विरुद्ध र किशोरी सशक्तिकरण सम्बन्धी कार्यक्रम गरिरहेका छन् । यस अघि लामो समय पीसविन नेपाल र गुड नेवर्स इन्टरनेशनलको सयुक्त सहकार्यमा पनि बालविवाह न्यूनिकरणका लागि काम गर्दै आएको थियो ।

लामो प्रयास पछि वडालाई बालविवाह शून्य वडा बनाउन सफल भएकोमा पालिका उपाध्यक्ष विशु नाथले खुसी व्यक्त गरेकी छन् । बालविवाहले स्वय व्यक्ति र सामाजिक जीवनमा समेत ठूलो असर पुग्ने, आमा र बच्चाको भविष्यमा जोखिम बढ्ने र पारिवारीक

समृद्धिमा समेत अवरोध हुने हुँदा बालविवाह रोक्न अभियान नै सञ्चालन गरिएको महिला विकास मञ्चका कार्यक्रम संयोजक कृष्णा दानीले बताएकी दिएकी छन् । महिला विकास मञ्चले अहिलेपनि पालिकामा कार्यक्रम सञ्चालन गरिरहेको छ । 

२० वर्षमुनिका कुनै पनि बालबालिकाको विवाह नभएको र अबपनि कुनै हालतमा गर्न गराउन नदिने सामुहिक प्रतिवद्धतापछि वडालाई बालविवाह शून्य वडा घोषणा गरिएको वडा अध्यक्ष भक्त बहादुर बुढाले बताएका छन् । बालविवाहलाई न्यूनीकरणमा शिक्षित परिवार, पालिका र महिला विकास मञ्च सहीतका संस्थाहरुको योगदान रहेको भन्दै वडा अध्यक्ष बुढाको सबैलाई धन्यवाद दिएका छन् । 

सिंगो पालिकामै बालविवाह अहिले विस्तारै कम भइरहेको र सुधारको अवस्थामा पुगेको भन्दै अभियानलाई थप सफल बनाउन सबैले आ–आफ्नो तर्फबाट योगदान गर्नु पर्ने सुझाव निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशीको छ । 

बालविवाह शून्य वडा घोषणा कार्यक्रममा विभिन्न सचेतामूलक नाटकसहित नृत्य प्रदर्शन समेत गरिएको थियोे । भने उक्त अभियानमा साथ सहयोग र महत्वपूर्ण भूमिका निर्वाह गर्ने समुदाय, बालक्लव, महिला विकास मञ्चलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । 

वडा नम्बर २ का अध्यक्ष भक्त बहादुर बुढाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिलबहादुर रावत थिए ।

त्यस्तै विशिष्ट अतिथि उपाध्यक्ष बिशुदेवि नाथ, निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशी, वडा नम्बर ३ का अध्यक्ष बिर्क बहादुर रावत, कार्यपालिका सदस्य, पालिका स्तरीय बाल सञ्जाल अध्यक्ष सनम सुनार, वडा सदस्य, महिला विकास मञ्च बाजुराका देव सेराला, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी, विभिन्न विद्यालयका विव्यस अध्यक्ष, प्रधानाध्यापक, शिक्षक विद्यार्थी अभिभावक लगायत सहभागी थिए ।
 

प्रतिक्रिया दिनुहोस