बुधबार, १० मङि्सर २०८२

बडीमालिकामा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु, विद्यार्थीमाझ खेलकुदको उत्साह

बाजुरा : बडीमालिका नगरपालिकामा बहुप्रतिक्षित छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य समारोहका बीच सुरु भएको छ । भौनेरास्थित जुगाडाको सत्यवादी माध्यमिक विद्यालयमा “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद” भन्ने मूल नारासहित प्रतियोगिता औपचारिक रूपमा उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहमा बडीमालिका–१ र २ का विद्यालयहरूले आकर्षक झाँकी, मार्चपास र सांस्कृतिक प्रस्तुति प्रस्तुत गरे, जसले सम्पूर्ण वातावरणलाई उत्साहपूर्ण बनाएको थियो । शिल्डमा १२ वटा विख्द्यालयका ६ सय बढीको संख्यामा खेलाडी विद्यार्थीले नै भाग लिएका छन् । शिल्ड उद्घाटनसँगै महिलाहरुबीच देउडा खेल प्रस्तुती गरिएको थियो । भने जनप्रतिनिधी र विव्यस अध्यक्ष सहीत सरोकारवाला बीच मैत्रीपूर्ण दौड आयोजना गरिएको थियो । 

शिल्डको नगर प्रमुख अमर खड्काले उद्घाटन गरेका हुन् । प्रमुख अतिथि समेत रहेका नगरप्रमुख अमर खड्काले खेलकुदलाई विद्यार्थीको क्षमता विकास तथा अनुशासन निर्माणको महत्वपूर्ण माध्यमको रूपमा व्याख्या गरे ।

उनले भने—“विद्यार्थीलाई राष्ट्रनिर्माणको मूलधारमा उभ्याउने महत्वपूर्ण प्लेटफर्म भनेकै खेलकुद हो। अब नगरपालिकाले खेलकुद संरचना विकास र प्रतियोगिता व्यवस्थापनलाई अझ योजनाबद्ध रूपमा अघि बढाउनेछ।”

नगरप्रमुख खड्काले खेल मैदान स्तरोन्नति, खेलकुद पूर्वाधार निर्माण र प्रतिभावान खेलाडीलाई निरन्तर प्रोत्साहन गर्ने कार्यक्रम आगामी वर्षहरूमा प्राथमिकतामा रहने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि उपप्रमुख नन्दा थापाले खेलकुदलाई नेतृत्व, आत्मविश्वास र सामाजिक विकाससँग जोडेर हेर्नुपर्ने बताइन् । “हामी खेलकुदलाई केवल प्रतिस्पर्धा होइन, अनुशासन र नेतृत्वको अवसरका रूपमा लिन्छौँ। अब नगरका सबै विद्यालयमा समान पहुँचसहित खेलकुद कार्यक्रम विस्तार गर्नेछौँ।” उपप्रमुख थापाले भनिन् । 

उनले महिलासहित सबै विद्यार्थीलाई खेलकुदमा सहज सहभागिता मिल्ने वातावरण निर्माणमा पालिका केन्द्रित हुने पनि बताइन् । उद्घाटन समारोहमा सहायक प्रमुख जिल्ला अधिकारी सितल रावल, प्रमुख प्रशासनिक अधिकृत पदम बहादुर माझी, सहीत १ देखि ९ का वडाअध्यक्ष तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको शिक्षक धिरेन विकले जानकारी दिएका छन् ।

कार्यक्रमको अध्यक्षता नगरपालिका खेलकुद संयोजक राजेश पायल विकले गरेका थिए भने सञ्चालन शिक्षा शाखाका शिक्षा अधिकृत तथा नगर खेलकुद विकास समितिका सचिव राम बहादुर कटुवालले गरेका थिए । 

बडीमालिका नगरपालिकाले यस वर्षको प्रतियोगिता अझ व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन सबै विद्यालयसँग समन्वय गरिरहेको जनाएको छ। खेलकुदमार्फत विद्यार्थीको उज्ज्वल भविष्य सुनिश्चित गर्न सबै सरोकारवालाले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस