बुधबार, ०३ मङि्सर २०८२

गौरव विष्ट प्रिय बाम्का’ पुस्तक विमोचन

बाजुरा : बाल लेखक गौरव विष्ट ‘समर्पण’ द्वारा लिखित नयाँ साहित्यिक कृति ‘प्रिय बाम्का’ को पुस्तक विमोचन समारोह आइतबार कीर्तिपुरस्थित मङ्गल माध्यामिक विद्यालयमा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रम विभिन्न साहित्यिक गतिविधि र संवादसहित सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथि तथा साहित्यपतिहरूले पुस्तक सार्वजनिक गर्दै लेखक विष्टको सरल, प्रभावकारी तथा मन छुने लेखनशैलीको प्रशंसा गरे। परिवार, समाज र सम्बन्धमा आधारित आत्मीय कथाहरू समेटिएको पुस्तकले पाठकको भावनालाई छोने विश्वास व्यक्त गर्दै उनीहरूले युवा पुस्तामा साहित्यिक सिर्जनशीलता थप विकास गर्नुपर्ने आवश्यकता औँल्याए।

सो अवसरमा लेखक गौरव विष्ट ‘समर्पण’ले ‘प्रिय बाम्का’ लेखनको प्रेरणा, पात्रहरूको निर्माण प्रक्रिया तथा पुस्तकले बोकेको भावनात्मक पृष्ठभूमिबारे आफ्ना अनुभव प्रस्तुत गरे। उनका अनुसार, पुस्तक जीवनका साना–साना तर अर्थपूर्ण घटनाहरूको संग्रह हो, जसले पाठकलाई आत्मीयता र संवेदनशीलतापूर्ण संसारमा प्रवेश गराउनेछ।

विद्यालयका प्रतिनिधिहरूले साहित्यिक कार्यक्रमहरूले विद्यार्थी तथा समुदायमा सिर्जनशील वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै, कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गरे।

समारोहको अन्त्यमा सहभागीहरूले लेखकलाई शुभकामना दिँदै ‘प्रिय बाम्का’ को सफल यात्राका लागि समर्थन व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस