आइतबार, २३ कार्तिक २०८२

बैतडीको दशरथचन्दकी उपमेयरका छाेराले दिए पत्रकार विष्टलाई धम्की

धनगढी : जेनजी आन्दोलनको बलमा बैतडीको दशरथ चन्द नगरपालिकाकि उपमेयर कौशिला चन्दका छोरा विशाल चन्दले अनलाइनखबरकर्मी जनक विष्टलाई धम्की दिएका छन् ।

जेनजीको हवला दिदै विष्टलाई अपरिचित नम्बरबाट टेलिफोन गरेर ज्यान मार्ने भन्दै धम्की दिएका हुन् । धनगढी उपमहानगरपालिका(५ तारानगरमा बस्दै आएका चन्दले प्रेस चौतारी कैलालीका अध्यक्ष समेत रहेका विष्टलाई अपशब्द प्रयोग गरेर धम्की दिएका हुन् ।

धनगढी उपमहानगरपालिका( १३ का नवराज कार्कीको मोबाईल प्रयोग गरेर विशालसँगै धनगढीकै रिवाज शाहले समेत उनलाई धम्क्याएका छन् ।

जेनजीको हमला दिदै धम्की दिएपछि पत्रकार विष्टले सुरक्षा र कानुनी कारवाहीको माग गर्दै तिनै जनाको नाममा जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन् ।

२४ भदौको राति घरमा सुतिरहेको अवस्थामा टेलिफोन गर्दै उनीहरूले सुरूमा विष्टलाई प्रेस विज्ञप्ति दिनुपर्नेछ भेटौँ भनेर कुराकानी गरेका थिए ।

उनले राति भइसकेको र भोलिपल्ट बिहान भेट्ने भनेपछि तथानाम गालीगलौज गर्दै थ्रेड दिएका थिए । विष्टलाई धम्की दिने शाहसहितका युवा धनगढीमा जेनजी आन्दोलनमा अग्र मोर्चामा देखिएका छन् ।

पत्रकार विष्टकाअनुसार धम्की दिने चन्द र शाहसँग उनको दोहोरो चिनजान छैन् । चिनजान नभएको अवस्थामा गत बैशाख १४ गते धनगढीको पोटली फुड अगाडि अहिले धम्की दिने मध्येका चन्दले विष्टमाथि दुर्व्यवहार गरेका थिए ।

सोही दिन प्रहरीले उनलाई नियन्त्रणमा लिएर थुनेको थियो । तर मदिरा सेवन गरेको सुरमा आफूबाट गल्ती भएको भन्दै माफी मागेपछि मिलापत्र गरेर छाडिएको थियो ।

सोही विषयलाई लिएर जेनजी आन्दोलन भइरहेको मौकामा धम्की दिदै पत्रकार विष्टको घर तथा कार्यालय आगजनी गर्ने भन्दै धम्की दिइएपछि उनले कानुनी कारवाहीको प्रक्रिया 
अघि बढाएका छन् । उक्त प्रक्रियामा पत्रकार महासंघ कैलाली र सुदूरपश्चिम समितिले उनलाई सघाइरहेको छ ।


 

प्रतिक्रिया दिनुहोस