आइतबार, २३ कार्तिक २०८२

मनाङ प्रदेश सभा २ मा पनि कात्तिक १७ मै उपनिर्वाचन गर्ने निर्वाचन आयोगको तयारी

काठमाडौं :मनाङको प्रदेश सभा क्षेत्र २ मा स्वतन्त्र निर्वाचित सांसद राजिव गुरुङ ‘दिपक मनाङगे’ पदमुक्त भएसँगै उक्त निर्वाचन क्षेत्रमा आगामी कात्तिक १७ गते नै निर्वाचन गर्ने निर्वाचन आयोगले तयारी गरेको छ ।

रूपन्देही प्रतिनिधि सभा क्षेत्र ३ मा कात्तिक १७ मै उपनिर्वाचन गर्नका लागि आयोगले काम कारबाही अघि बढाइरहेका बेला सर्वोच्च अदालतको संवैधानिक इजलाशले मनाङगेलाई पदमुक्त गरेको आदेशको पूर्णपाठ सार्वजनिक गर्दै पद रिक्त भएको जानकारी गराउन सरकारलाई आदेश दिएसँगै निर्वाचन आयोगले त्यस क्षेत्रमा पनि उपनिर्वाचन गर्ने तयारी अघि बढाएको हो ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सर्वोच्च अदालतको संवैधानिक इजलासबाट पद रिक्त भएको जानकारी गराउन सरकारलाई आदेश दिएसँगै आयोगले कात्तिक १७ मै उपनिर्वाचन गर्ने तयारी अघि बढाएको बताए ।

उनले भने, ‘भर्खरै मात्रै सर्वोच्च अदालतको संवैधानिक इजलासबाट पूर्णपाठ सार्वजनिक भएछ । अब आयोगको बैठक बसेर कात्तिक १७ मै एकैदिन उपनिर्वाचन गर्नेगरी निर्णय गर्छ ।’

कार्यवाहक प्रमुख निर्वाच आयुक्त भण्डारीले निर्वाचन आयोगले कम्तिमा ६४ दिन अघि मिति तोकेर निर्वाचन गरेको इतिहास रहको बताउदैँ अहिले त्यो भन्दा पनि धेरै दिन बाँकी रहेकाले निर्वाचन गर्न कुनै समस्या नहुने बताए ।

२०७९ मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा मनाङे निर्विरोध निर्वाचित भएका थिए । चक्रे मिलनमाथि ज्यान मार्ने उद्योग गरेको मुद्दामा दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्ष जेल सजाय सुनाएको थियो । सर्वोच्चले गण्डकी प्रदेश सभा सदस्यको हैसियतमा पदमा बस्न मनाङे अयोग्य रहेको फैसला गरेको थियो । त्यससँगै मनाङ प्रदेश सभा क्षेत्र २ रिक्त भएको हो ।

प्रतिक्रिया दिनुहोस