बाजुरा: करिब चार वर्षको अन्तरालपछि जिल्ला अस्पताल बाजुराले पुनः एमडिजिपी डाक्टर पाएको छ। २०७८ सालमा डाक्टर प्रेरित देवकोटा बाहिरिएपछि अस्पताल एमडिजिपी डाक्टरविहीन बनेको थियो।
यसपटक डाक्टर आशिष कार्की नियुक्त भएर बाजुरा आएका हुन्। दुर्गम जिल्ला बाजुरामा पहिलोपटक सेवाका लागि आएका उनी गैरसरकारी संस्था निक्साईमेन्ट (NSI) अन्तर्गत जिल्ला अस्पतालमा कार्यरत हुनेछन्।
अस्पतालका कार्यालय प्रमुख डाक्टर चन्द्रशेखर यादवका अनुसार डाक्टर कार्कीको औपचारिक स्वागत अबिर, फूलमाला र विशेष कार्यक्रममार्फत गरिएको छ। उनले एमडिजिपी डाक्टर आउनु बाजुराबासीका लागि गौरवको विषय भएको बताएका छन्।
डाक्टर कार्कीले पनि बाजुरा बासीलाई निस्वार्थ सेवा गर्ने प्रतिबद्धता जनाउँदै स्थानीयको साथ–सहयोगको अपेक्षा गरेका छन्। उनको कार्यकाल यस आर्थिक वर्षको असार मसान्तसम्म रहनेछ।
एमडिजिपी डाक्टर नहुँदा सामान्य उपचारकै लागि जिल्लाबाहिर धाउनुपर्ने बाध्यता अन्त्य हुनेमा स्थानीय विश्वस्त छन्।
यसैबीच, विगत दुई वर्षदेखि जिल्ला अस्पतालमा सेवा गर्दै आउनु भएका डाक्टर गौतम यादवलाई भने बाजागाजा सहित बिदाइ गरिएको छ। उनी हाल कोशी प्रदेशमा स्थानान्तरण भएका छन्।
प्रतिक्रिया दिनुहोस