बाजुरा : बुधबार राति आएको भीषण बाढीले हिमाली गाउँपालिका–१, विच्छ्यामा ११ घर बगाएको छ। विच्छ्या खोलामा बेलुकी ७ बजे आएको बाढीले गाउँपालिकाका वडा नं. १, ३ र ५ बढी प्रभावित बनेका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देव बहादुर चौधरीका अनुसार कवाडी प्रहरी चौकीको टोलीले गरेको तथ्यांक संकलनमा ७ घर पूर्ण क्षति, ११ घर बगेको र १७ घर उच्च जोखिममा रहेको पुष्टि भएको छ।
बाढीले गाउँपालिका–१ का नरेन्द्र बहादुर बुढा, छञ्चलाल थापा, धनसिंह थापा, सब्बले थापा, लालबहादुर थापा, सुजलाल थापा, गोबतल थापाको घर, पसल र खेतबारीमा क्षति पुर्याएको छ। यस्तै, गाउँपालिका–५ का नवराज बुढा, देवीलाल चदारा, विरवल चदारा, अजय चदारा, हिउँसरा ल्वार, अंगविर चदारा लगायतका घर बगाएका छन्। त्यसैगरी, बलबहादुर चदारा, मुगा लुहार, देबीलाल बुढथापा, बीरभान लुहार, डवल लुहारको घर पनि बाढीले बगाएको छ।
बाढीका कारण गाउँपालिका–१ का सुजलाल थापा, धनसिंह थापा, जबैलाल थापा, धनबहादुर थापा, चन्द्रापति थापा, धर्मलाल थापा, बलचन्द्र थापा लगायत १७ घरधुरी उच्च जोखिममा छन्। सार्वजनिक संरचना पनि प्रभावित बाढीले गाउँपालिका कार्यालय, विच्छ्या माध्यमिक विद्यालय, विच्छ्या स्वास्थ्य चौकी, स्थानीय विद्युत लाइन, झोलुंगे पुल र नेटा तथा देउसैनका पानी घट्ट समेत जोखिममा पारेको छ।
गाउँपालिका अध्यक्षको अनुगमन क्षति विवरण बुझ्न गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्ल नेतृत्वको टोली प्रभावित क्षेत्रमा पुगेको सहायक प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले बताए। अध्यक्ष मल्लका अनुसार मानवीय क्षति नभए पनि भौतिक संरचना र खेतीयोग्य जमिनमा ठूलो क्षति पुगेको छ। उनीहरूले प्रभावित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनाको निर्णय गर्न कार्यपालिका बैठक बस्ने जनाएका छन्। साथै, आगामी दिनमा सम्भावित बाढी–पहिरोको जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा बस्न स्थानीयलाई आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस