बाजुरा : धार्मिक तथा पर्यटकीय क्षेत्रको धरोहर बडीमालिका भगवती माताको दर्शन गर्न करिब ४५ हजार बढीले बाजुरा स्थितगरेका छन् । यहीँ साउन १४ गतेदेखि मूल पूजा तथा मेला लागेको २३ गतेसम्म करिब ४५ हजार बढी भक्तजनहरुले बडीमालिकाको दर्शन गरेका हुन ।
नेपाल स्काउट सुदूरपश्चिम प्रदेश संयोजक नरेन्द्र थापाले आफू पनि सो अवधिभर बडीमालिकामा रहेको भन्दै यस बर्ष करिब ४५ देखि ५० हजारको हाराहारीमा दर्शनार्थीहरु पुगेको अनुमान गरिएको बताए । उनले साउन १४ गते देखि २३ गते मूल पूजा तथा मेलासम्म सो संख्यामा भक्तजनहरुले बडीमालिकाको दर्शन गरेको बताए । त्यस्तै थापाले मुख्य पूजा जनैपूर्णिमाको अघिल्लो दिन भए पनि बडीमालिका माताको नयाँ मन्दिर निर्माण भएको अवसरमा साउन १४ गतेदेखि नवाह लगाएर पूजा सुरु भएको बताए । उनले ९ दिनसम्म ९ वटा ब्राहमण बसेर दैनिक ३ आवृत्ति पढ्ने तथा पूजाआजा गरेर शुद्धाशुद्धीका लागि नवाह सुरु भएको बताएका छन् ।
यस अघिका बर्षहरुमा जनैपूर्णिमाको अघिल्लो दिन अर्थात साउन चतुर्दर्शीका दिन मात्रै पूजा हुने गरेको भए पनि यस बर्ष भने नवाहका कारण साउन १४ गतेबाटै पूजा सुरु भएको थियो । त्यस्तै मुख्य पूजा तथा मेला भने साउन २३ गते लागेको थियो ।
विगतका बर्ष झै यस यस बर्ष पनि देशका विभिन्न जिल्ल्ला सहित छिमेकी देश भारतबाट समेत दर्शनार्थीहरु बडीमालिका पुगेका थिए । हरेक बर्ष बाजुरा, डोटी र जुम्लाबाट पूजा सामग्री सहित सरकारी टोली समेत बडीमालिका जाने परम्परा रहेको छ ।
विगतका बर्षहरुमा भक्तजनहरु धार्मिक विधि अनुसार पूजापाठ, प्रसाद ग्रहण र आशीर्वाद लिने क्रम बिहानै देखि बेलुकीसम्म चल्ने गर्थ्यो । तर पछिल्लो समय भक्तजनहरुको संख्यामा वृद्धि हुदँै गएकोले यो बर्ष अघिल्लै दिन देखि रातभर र दिनभर लाईनमा लागेर बडीमालिका देवीको पुजा गरे । यो बर्ष नै नेपाली सेनाले करिब २ करोडको लागतमा प्यागोडा शैलीमा कलात्मक बडीमालिका माताको मन्दिर निर्माण गरेकाले पनि विशेष आकर्षणको केन्द्र बनेको छ । भव्य ढाँचा, कलात्मक शिल्प र शान्त वातावरणका कारण भक्तजनहरू लामबद्ध भएर दर्शनका लागि प्रतीक्षा गरेका देखिन्थे । मन्दिर परिसरमा धामी–झाँक्रीको सांस्कृतिक प्रदर्शन, परम्परागत बाजागाजा र भक्तजनको उत्साहपूर्ण सहभागिताले माहोल अझै जीवन्त बनाएको थियो ।
समुद्री सतहबाट ४ हजार २ सय मिटर उचाईमा अवस्थित बाजुराको भू–स्वर्ग बडीमालिका प्राकृतिक सुन्दरताले भरिपूर्ण मात्रै नभई धार्मिक आस्थाको पनि अपूर्व संगम हो । पहिले बडीमालिकाको प्रचारप्रसारको कमीले पनि त्यति धेरै भक्तजनहरु नआएपनि पछिल्ला बर्षहरुमा पनि प्रचारप्रसार बढेसँगै दशर्न गर्न तथा अवलोकनका लागि त्याँहा पुग्नेको संख्यामा वृद्धि भइरहेको जानकारहरु बताउँछन् । हरेक बर्ष जनैपूर्णिमाको अघिल्लो दिन मुख्य पूजा हुने गरेपनि अन्य समयमा पनि पर्यटकहरु बडीमालिका पुग्ने गरेका छन् । यहाँको दर्शनले मनोकामना पूरा हुने, रोग निको हुने, पुत्र प्राप्ति हुने लगायतका धार्मिक विश्वासहरू प्रचलित छन् ।
मनमोहक त्रिवेणी क्षेत्र, २२ पाटन, ती फाँटमाथि फुलेका रङ्गीचङ्गी फूल, खेतीवेती, विष्णुपानी, धर्मद्वार बडिमालिका क्षेत्रका प्रसिद्ध स्थल हुन् । खेतिबेति क्षेत्रमा परापूर्वकालमा भगवती र मैसासुरको युद्धका क्रममा रोपिँदै गरेको धान यथास्थितिमा रहेको किंवदन्ती पाइन्छ । यहाँ डाफे, मुनाल, कस्तुरी र झालरजस्ता दुर्लभ चराचुरुङ्गी र वन्यजन्तु पाइन्छन् ।
हिमालको मनोरम दृश्य, हराभरा पाटन, दुर्लभ वन्यजन्तु र पौराणिक किंवदन्तीले भरिपूर्ण यो पवित्र स्थलमा पछिल्लो केही बर्ष यता देश तथा विदेशबाट भक्तजन तथा पर्यटक आउने क्रम बढेको छ ।
बडीमालिकाको टुप्पोबाट देखिने अपूर्व हिमश्रृंखला यहाँको अर्को मुख्य विशेषता हो । सफा मौसममा अपी, सैपाल, र विभिन्न हिमशिखर स्पष्ट देख्न सकिन्छ । प्राकृतिक दृश्य, धार्मिक आस्था र सांस्कृतिक परम्पराको अद्वितीय रुपले बडीमालिका पर्यटक र भक्तजन दुवैका लागि अविस्मरणीय गन्तव्य बन्दै गएको छ । बडीमालिका पुग्न कठिन भए पनि त्यहाँको आध्यात्मिक शान्ति, हरियाली पाटन, हिमश्रृंखला र प्राकृतिक सौन्दर्यका अगाडी यात्रा कठिनाइ गौण हुन्छ ।
धार्मिक र पर्यटकीय दृष्टिले बडिमालिकाको महत्व अत्यन्त उच्च भए पनि सरकारी ध्यान अझै पुगेको छैन । सहज पैदल मार्ग, पानी र शौचालयको अभाव, धर्मशाला र बासस्थानको कमी, बाटोमा संकेत चिह्न नहुँदा तिर्थालुहरूलाई कठिनाइ भइरहेको छ । पैदल मार्ग समेत बन्न नसकेका कारण बाटोमै चिप्लियर बर्षेनी दर्शनार्थीहरुले कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ भने केहीले अकालमै ज्यान गुमाइ रहेका छन् ।
दुर्गन्ध र फोहोर व्यवस्थापनको चुनौती समाधान गर्न तथा तत्काल संरक्षण र पूर्वाधार विकासमा राज्यको ध्यान आवश्यक छ । प्रकृतिले दिएको अनुपम उपहार र अलौकिक धार्मिक आस्थाको केन्द्र बडीमालिकाको संरक्षण, प्रवद्र्धन तथा विकासमा राज्यले कदम चाल्न सकेको देखिदैन् ।
बडीमालिकामा पुगेका पर्यटक तथा दर्शनार्थीहरुका लागि मेला लक्षित स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै सहज र व्यवस्थित बासस्थानको विशेष व्यवस्था गर्नुपर्ने देखिन्छ । बडीमालिकालाई राज्यले आफ्नो स्वामित्वमा लिएर संरक्षण क्षेत्र तथा समिति नै बनाएर भएपनि मेलालाई व्यवस्थित गर्न तथा यसको सम्वद्र्धनका लागि राज्यको ध्यान जानुपर्ने स्थानीयहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस