बाजुरा: भारतको उत्तराखण्डस्थित उत्तरकाशी र पौडी गढवालको बाढी र पहिरोमा हराइरहेका नेपाली अझै फेला परेका छैनन् । भारतस्थित नेपाली दूतावासले बेपत्ताहरूको सूची सार्वजनिक गर्दै उत्तर काशीमा २१ र पौडी गढवालमा ५ नेपाली बेपता भएको जानकारी दिएको छ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका दुई जना सहित २६ जना फेला पर्न सकेका छैनन् । रोजगारीका लागि उत्तरकाशीको धरालीमा गएका उक्त गाउँपालिका २ पुडेनीका २४ वर्षीय रमेश बुढा र उनकी श्रीमती २२ वर्षीया प्रिया बुढा अझै बेपत्ता रहेका छन् ।
बैशाखमा विवाह गरेर घरको ऋण तिर्नका लागि रोजगारीका लागि गएका दम्पत्ती बाढीमा परी बेपत्ता भएका हुन् । उत्तराखण्डको उत्तरकाशी जिल्ला र पौडी गढवाल जिल्लामा क्रमशः ५ र ६ अगस्ट आएको बाढी र पहिरोमा परेर २६ नेपाली हराएका हुन् । दूतावासले स्थानीय भारतीय अधिकारीहरूसँग समन्वय गरी हराइरहेकाहरूको खोजी कार्यका लागि पहल गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस