बाजुरा : धार्मिक आस्थाको धरोहर बडीमालिकाको दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एक तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ।
मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–५, काठमाडौंका ५२ वर्षीय विप्लव ओझा रहेका छन्। उनी पूर्व शिक्षा मन्त्री देवी ओझाका छोरा भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) इकबाल हवारीले जानकारी दिएका छन्।
डीएसपी हवारीका अनुसार बिहीबार साँझ करिब ७ बजे बडीमालिका माताको दर्शन गरेर नाटेश्वरी फर्किँदै गर्दा विस्नेपानी नजिकैबाट लडेर करिब ७०० मिटर तल खोल्सामा उनकाे शव भेटिएको हो।
राति अबेर भएको दुर्घटनापछि खोजतलासमा खटिएको टोलीले शव विस्ने खोलाको खोल्सामा अड्किएको अवस्थामा भेटेको थियो। लगातारको वर्षाले शवलाई माथि ल्याउन कठिनाइ भएको प्रहरीले जनाएको छ।
उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा भए पनि खराब मौसमका कारण उडान सम्भव नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
प्रतिक्रिया दिनुहोस