बाजुरा : धार्मिक आस्था र विश्वासको केन्द्र बडिमालिकाको दर्शनमा जाने भक्तजनका लागि नेपाली सेनाको इश्वरी बक्स गुल्म, बाजुराले आपतकालीन उद्धारका लागि हेलिकप्टरको व्यवस्था गरेको छ। वर्षेनी हजारौं भक्तजन चतुर्दशी र जनैपूर्णिमाको अवसरमा बडिमालिका यात्रामा निस्कने गर्दछन्।
कठिन भौगोलिक क्षेत्र र उच्च हिमाली बाटो पार गरेर पुगिने यस तीर्थस्थलमा यात्राका क्रममा असहज स्थिति आउन सक्ने भएकाले सेनाले उद्धार कार्यका लागि विशेष तयारी मिलाएको हो। इश्वरी गुल्मका प्रमुखका अनुसार, आकस्मिक स्वास्थ्य समस्या, दुर्घटना वा अन्य आपत्कालीन अवस्थाका यात्रुलाई तत्काल उद्दार गर्न हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। यसले संकटको बेलामा जीवनरक्षाका लागि महत्त्वपूर्ण भूमिका खेल्नेछ।
यात्राका क्रममा त्रिवेणी नगरपालिका–३ निवासी तेजेन्द्र भण्डारीलाई लेख लागेपछि नेपाली सेनाको टोलीले तत्काल उद्धार गरी उपचारसमेत गरेको जनाएको छ। बडिमालिका तीर्थयात्रा धार्मिक मात्र नभई प्राकृतिक र भौगोलिक चुनौतीको पनि यात्रा हो। यस्तो अवस्थामा सेनाले देखाएको सक्रियता सराहनीय भएको स्थानीयले बताएका छन्।
प्रतिक्रिया दिनुहोस