आइतबार, २३ कार्तिक २०८२

बडिमालिकामा नेपाली सेनाको निःशुल्क स्वास्थ्य सेवा, ६ सयभन्दा बढी भक्तजन लाभान्वित

बाजुरा : धार्मिक तथा पर्यटकीय स्थलको रूपमा परिचित बडिमालिकाको दर्शनमा गएका भक्तजनका लागि नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। इश्वरी बक्स गुल्म बाजुराको आयोजनामा सञ्चालित शिविरबाट ६ सयभन्दा बढी तीर्थयात्रीले सेवा लिएका छन्।

जनैपूर्णिमाको अघिल्लो दिन, साउन २३ गते चतुर्दशीको अवसरमा विशेष पूजा हुने बडिमालिकामा दर्शन गर्न गएका भक्तजनमध्ये केही उच्च उचाइका कारण लेक लागेर सिकिस्त भएका थिए। अन्य सामान्य रुघाखोकी तथा थकानका कारण विरामी परेका तीर्थयात्रीलाई पनि सेनाले प्राथमिक उपचार प्रदान गरेको हाे।

गुल्मपति सेनानी कृष्ण तिमिल्सेनाका अनुसार बडीमालिका मन्दिर, त्रिवेणी पाटन र तीर्थमार्गका तीन स्थानमा स्वास्थ्य शिविर स्थापना गरिएको थियो। तीर्थयात्रामा गएका तीन जना गम्भीर विरामीलाई उपचारपछि उद्धार गरी घर फिर्ता पठाइएको उनले जानकारी दिए।

शिविरमा विशेषज्ञ चिकित्सक सहितको टोली खटाइएको थियो। अक्सिजनको अभावका कारण लेक लागेका बिरामीलाई तत्काल उपचार दिइएको र हेलिकप्टर समेत तयारी अवस्थामा राखिएको सेनानी तिमिल्सेनाले बताए।

सैन्य टोलीले तीर्थयात्रीका लागि खानेपानी, अस्थायी शौचालय, टेन्ट बास, तथा बाटो सम्बन्धी जानकारीको समेत व्यवस्था गरेको छ। बडिमालिका मेला अवधिभर शान्ति सुरक्षा, भीड व्यवस्थापन तथा मेलापछि मन्दिर परिसरको सरसफाइ अभियान समेत सञ्चालन गरिने जानकारी गुल्मले दिएको छ।

यस वर्ष करिब पाँच हजारभन्दा बढी भक्तजनले बडिमालिकाको दर्शन गरेको अनुमान गरिएको छ। बडिमालिका समुद्री सतहदेखि उच्च स्थानमा रहेको हुनाले प्रत्येक वर्ष तीर्थयात्राका क्रममा यस किसिमका स्वास्थ्य समस्या देखिने गरेको छ।

 

प्रतिक्रिया दिनुहोस