बाजुरा : सुदूरपश्चिमको प्रमुख धार्मिक स्थल बडीमालिकाको दर्शनका लागि गएका एक तीर्थयात्रीलाई लेक लागेर गम्भीर बिरामी भएका छन्। त्रिवेणी नगरपालिका–३, पुर्भुताका ३० वर्षीय तेजेन्द्र भण्डारी बडीमालिकाको त्रिवेणी क्षेत्रमा पुगेका बेला अक्सिजनको कमीका कारण लेक लागेर सिकिस्त हुनु भएकाे छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक इकवाल हवारीका अनुसार, भण्डारीको इश्वरी बक्स गुल्मद्वारा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा उपचार भइरहेको छ। लेकको असरले अवस्था गम्भीर बनेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी गरिएको भए पनि खराब मौसमका कारण हेलिकप्टर सुर्खेतबाट उड्न नसकेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए।
“दाङबाट सुर्खेतसम्म हेलिकप्टर आइपुगेको हो, तर मौसमका कारण बाजुरा आउन सकेको छैन,” पाध्याले भने। उक्त स्वास्थ्य शिविरमा उपचार भइरहेको भए पनि अक्सिजन सिलिन्डर सकिन लागेको खबरसमेत आएको प्रमुख जिल्ला अधिकारी पाध्याको भनाइ छ।
प्रतिक्रिया दिनुहोस