बाजुरा: बडीमालिका धार्मिक यात्रा २०८२ सुरु भएको छ । धर्तीको भू स्वर्गका नामले परिचित बडी मालिका धार्मिक यात्रा साउन २० गते बिहानबाट औपचारिक रूपमा शुभारम्भ भएको हो । मार्तडीबाट तीन दिनको पैदल यात्रा पछि बडीमालिका पुग्नु पर्ने धार्मिक मान्यता अनुसार औपचारिक रूपमा सुरु भएको बडीमालिकाका नगर प्रमुख अमर खड्काले बताएका छन् ।
धार्मिक यात्राका लागि बडीमालिका नगरपालिकाले ४ नम्बरका वडा अध्यक्ष अर्जुन नाथ नेतृत्वमा टोली पठाएको छ । भने टोलीको औपचारिक बिदाइ गरेको छ । जिल्ला प्रशासन कार्यालयको तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी शिलत रावलले सरकारी पूजा टोलीको नेतृत्व गरेका छन् ।अमर खड्का नेतृत्वको टोली बडीमालिका नगरपालिकामा आइसकेपछि मात्रै बडीमालिकामा औपचारिक सरकारी पूजा टोली पठाउन थालिएको हो । त्यस अघि बाजुराबाट आ(आफ्नै तरिकाले धार्मिक यात्रामा सहभागी हुने प्रचलन थियो । र जिल्ला प्रशासन कार्यालयबाट सुरक्षाकर्मी सहितको टोली मात्रै पठाउने गरिन्थ्यो ।
सरकारी पूजा टोलीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सलामीका साथ बिदा गरेको छ । भने स्थानीय पञ्चेबाजा मागल गान सहितको हर्षबढाइको टोली मार्फत धार्मिक विधि अनुसारको पूजापाठ गरेर टोली पठाइएको नगर प्रमुख अमर खड्काले बताएका छन् । सरकारी पूजाको टोलीमा पञ्चकन्या, जमरा र कलश सहितका महिला टोली र विद्यार्थीहरू पनि सहभागी थिए ।
सरकारी टोलीलाई नगर प्रमुख अमर खड्का, उपप्रमुख नन्दा कुमारी थापा, प्रमुख जिल्ला अधिकारी मेधनाथ पाध्याय, प्रमुख प्रशासकीय अधिकृत पदम माझी सहितले बिदाइ गरेका हुन् । यो वर्ष बडीमालिका धार्मीक यात्रालाई बडो महत्त्व दिइएको छ । धनगढी देखि डोटी हुँदै जुम्ला देखि कालिकोट सबैतिरबाट सरकारी महत्वको टोली नै बडी मालिका आइपुगेको छ ।
यो वर्ष नयाँ मन्दिर निर्माण भएसँगै पनि बडीमालिकाको आकर्षण बढेको देखिन्छ । दैनिकजसो सयैको संख्यामा तीर्थयात्रीहरू बडी मालिका गइरहेका छन् । हालसम्मकै बढी भक्तजन हुने अनुमान गरिएको छ । बाजुराको अर्को प्रमुख धार्मिक आस्थाको धरोहर बुढीनन्दा यात्रा पनि सुरु भएको छ ।
बडीमालिकाको इतिहास र महिमा
मन्दिर आदिमकालमा स्थापना भएको हो । स्कन्दपुराणको मानसखण्डमा उल्लेख भएअनुसार सत्यदेवीले आफ्ना पिता दक्षप्रजातिको यज्ञमा अग्निदाह गरेपछि महादेव सत्यदेवीको मृत शरीर लिएर पृथ्वी भ्रमण गर्न थाले ।
यसरी ठाउँठाउँमा सत्यदेवीका अङ्ग पतन हुँदै, झर्दै खस्न थाले । सत्यदेवीका अङ्ग जहाँतहाँ पतन भए त्यहाँ शक्तिपीठ स्थापना भए । त्यसै क्रममा बाजुराको मल्लागिरी पर्वत ९बडी मालिका० मा उनको बायाँ कुम पतन भयो । त्यही मल्लागिरीमा बडिमालिकाको मन्दिर स्थापना गरेर पूजा गर्न थालिएको जनश्रुति छ ।
बडीमालिकाका अध्ययेता बाजुराका जहरसिंह थापाका अनुसार बडी मालिका देवीको पहिलो देउरो ९मन्दिर० निर्माण बाजुराका दीपराज छत्यालले गरेका थिए । त्यसपछि शाके १५९१ मा जुम्लाका कल्यालवंशी राजा वीरभद्र शाहीले बाजुराको ढाडाकोटको कालापनी भन्ने ठाउँबाट ढुङ्गा बोकाएर बडीमालिकामा मन्दिर निर्माण गराएका थिए ।
शाके १६७९ मा कल्यालवंशी राजा शुरदर्शन शाहले बडिमालिका मन्दिर मर्मत गराउनुका साथै मूर्ति स्थापना गरेका थिए । त्यसपछि ०३६–०३७ तिर तत्कालीन जिल्ला विकास बाजुराका सभापति छत्रबहादुर शाह र पैमाका पुजारीहरूको सक्रियतामा मन्दिर निर्माण गरिएको थियो ।
आदिमकाल देखिकै धार्मिक आस्थाको धरोहरका रूपमा रहेको बडिमालिकामा अनेकन छँटाहरू, सुगन्धित बगैँचा, विशाल पाटन ९फाँट० हरू र जैविक विविधताको खजानाका रूपमा रहेको छ । बडिमालिका मानव जातिका लागि प्रकृतिले दिएको अनुपम उपहार मानिन्छ ।
उसो त बडी मालिका नेपाली सेनाको इष्टदेवी हुन् । बडीमालिकाका अध्येता जहरसिंह थापाका अनुसार अमरसिंह थापाकै समयदेखि बडीमालिकासँग नेपाली सेनाको साइनो सम्बन्ध जोडिएको थियो ।
पुजारी नेत्रराज पाध्यायका अनुसार ०३२ सालसम्म नेपाली सेनाले पनि श्रावण शुक्ल चतुर्दशीकै दिन पूजाआजा गर्ने परम्परा थियो । तर त्यस दिन सर्वसाधारणले समेत पूजाआजा गर्ने भएकाले ०३२ सालपछि खप्तड स्वामीको सुझावमा सेना र तत्कालीन राजाले जेष्ठ शुक्ल पक्षको अष्टमी तिथिमा पूजाआजा गर्ने परम्परा सुरु भएको हो ।
त्यस बेला सकभर राजा, खप्तड स्वामी र प्रधानसेनापति पूजाआजाका लागि आफैं बडिमालिका पुग्थे । तर राजा वीरेन्द्रको हत्यापछि भने राजा र राष्ट्राध्यक्षले पूजा गर्ने प्रचलन टुटेको थियो । तर सेनाले पूजा गर्ने परम्परा भने कायम राखेको छ ।
पुजारी पाध्याका अनुसार हरेक वर्ष सेनापतिको प्रतिनिधित्व गर्दै विगतमा दीपायलबाट बाहिनीपति र अहिले पृतनापति पूजामा पुग्छन् । बडी मालिका दर्शन गरेमा इच्छाएको वरदान प्राप्त हुने जनविश्वासका कारण यहाँ पुग्नेको घुइँचो लाग्ने गर्छ । नेपाल मात्रै नभएर भारतको उत्तराखण्डमा पर्ने कुमाउ, गढवाल, पिथौरागढलगायतका ठाउँबाट पनि तीर्थयात्री आउने गरेका छन् ।
डोटी र जुम्लाबाट औपचारिक सरकारी पूजा
बडीमालिकाको पूजाका लागि तत्कालीन सिंजा राज्यको प्रतिनिधित्व गर्दै जुम्लाबाट सरकारी पूजा सामग्री ९डोली० पठाइन्थ्यो भने डोटी राज्यको प्रतिनिधित्व गर्दै डोटीबाट सरकारी पूजा सामग्री ९पेटारो० पठाउने प्रचलन हालसम्म पनि कायमै छ ।
जुम्ला जिल्ला प्रशासन कार्यालयबाट चन्दननाथको डोलीसहित सरकारी टोली नागपञ्चमीका दिन बडीमालिकातर्फ प्रस्थान गर्ने परम्परा अहिले पनि छ । डोटीबाट अमरसिंह थापाकै पालादेखि बडीमालिकामा ‘डोली’ पठाउने चलन थियो । सरकारी पूजा सामग्रीलाई डोली भन्ने चलन छ ।
शिलगढीबाट १५ दिनमा बडीमालिका पुग्ने प्रचलन रहिएकाले श्रावण प्रतिपदाका दिन सदरमुकाम शिलगढीबाट पूजा टोली बडीमालिका प्रस्थान गर्ने गरेको छ । यस वर्षका लागि डोटीको सदरमुकाम शिलगढीबाट शुक्रबार बडिमालिका मन्दिरका लागि सरकारी डोली हिँडिसकेको छ ।
डोटीको डोलीमा दीपायलको भुरुडी, ९धानको पात० र अछामको वैद्यनाथको अक्षता समावेश गर्ने प्रचलन छ । पूजाको पनि विधि र परम्परा छ । ‘सुरुमा डोटीबाट आएको डोलीसँगै गोरखनाथको पेटारो चढाइन्छ । त्यस क्रममा जुम्लाबाट आएको चन्दननाथको पेटारो पूजाको चढाउने परम्परा छ ।
तीन दिनअघि नै बडीमालिकाका पुजारीले लिने आशागुर्जा ९चाँदीका पूजा भाँडा० र कालिकोटका ब्राम्ह्रणहरूले लिने छत्रको पूजा गर्ने चलन छ । त्यसपछि पूजा जल लिएर पुजारीहरू बडीमालिका मन्दिरतर्फ प्रस्थान गर्छन् ।
धार्मिक आस्था र प्राकृतिक सुन्दरताले नै बडीमालिका बहुत सुन्दर र सबैको रोजाइको गन्तव्य बनिरहेको छ । मन्दिरमा प्राचीन कालदेखि नै मेला लाग्ने र पूजाआजा हुँदै आएको छ । बडिमालिका मन्दिरका पुजारी नेत्रराज पाध्यायका अनुसार आफ्नो परिवारका १४ पुस्ता अघिदेखि पूजा भइरहेको अभिलेख छ ।
वि। सं १८८३ मा राजा रणबहादुर शाहद्वारा बडीमालिकालाई राष्ट्रिय धार्मिक आस्थाको क्षेत्रका रूपमा लालमोहर लगाएर प्रमाणित गरेको पुजारी परिवारको भनाइ छ । राजा रणबहादुर शाह स्वयंले पनि बडीमालिकाको दर्शन गरेको भन्ने भनाइ छ । नेपाल एकीकरणको बाँकी काम पूरा गर्न बहादुर शाह स्वयम् बडीमालिका पुगेर माताको दर्शन गरेर आर्शिवादसहित फर्किएको पुजारी खलक बताउँछन् ।
बडिमालिका क्षेत्रमा दुर्लभ जडीबुटीका त फाँटैफाँट छन्, डाँफे मुनाल, अनेकौँ प्रजातिका चराचुरुङ्गी देख्न पाइन्छ । बहुमूल्य जडीबुटी कुट्की, वन लसुन, सुगन्धवाल, पदमचाल, भूतकेश, बायोजडी, पाँचऔंले लगायत ४५ बढी प्रजातिका दुर्लभ तथा बहुमूल्य जडिबुटी पाइने गरेको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ । क्यान्सरको औषधिमा प्रयोग हुने ‘ट्यास्सोल’ उत्पादन हुने लौठ सल्ला, गोब्रे सल्लालगायतका वनस्पति पनि बडीमालिका क्षेत्रमा प्रशस्तै छन् ।
धनगढी उप–महानगरपालिकाले पनि औपचारिक टोली पठायो
धनगढी उप–महानगरपालिकाले यो वर्षबाट बडीमालिका औपचारिक पूजा टोली पठाउन थालेका छन् । उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाको नेतृत्वमा टोली पठाएको हो । धार्मिक पर्यटन प्रवद्र्धन र सुदूरपश्चिमका पर्यटकीय गन्तव्यको महिमा विस्तारका लागि बडीमालिकामा औपचारिक पूजा पठाउने अभ्यास सुरु गरिएको उपप्रमुख रानाले बताएकी छन् ।
राना नेतृत्वको टोलीमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित कर्मचारीहरुको सहभागिता छ । टोलीलाई बडीमालिकाका नगर प्रमुख अमर खड्का सहीतको नेतृत्वले पालिकामा स्वागत सहित बडीमालिका बिदाइ गरेको छ ।
बडीमालिका र त्रिवेणीले दियो सार्वजनिक बिदा
बाजुराका बडीमालिका र त्रिवेणी नगरपालिकाले बडीमालिका धार्मिक यात्रा विशेष पालिकामा सार्वजनिक बिदा दिएका छन् । धार्मिक यात्राको महिमा विस्तार गर्न र सरकारी महत्वकै पुजाका रुपमा विकास गर्न बिदा दिन पहिलो पटक अभ्यास गरिएको हो ।
बाजुराको बडीमालिका नगरपालिकाले नै पहिलो पटक औपचारिक पूजा सामाग्री पठाउन थालेको हो । यस अघि डोटी र जुम्लाबाट मात्रै आउने गरेका थियो । अमर खड्का नेतृत्वमा टिम आइसकेपछि धार्मिक पूजाको टोली नै औपचारिक बिदाइ सहित पठाउने चलन सुरु गरिएको हो ।
त्रिवेणी नगरपालिकाले तीन दिन बिदा दिने निर्णय गरेको छ । भने बडीमालिका नगरपालिकाले दुई दिने दिने निर्णय गरेको छ । बडीमालिका मन्दिर त्रिवेणी नगरपालिका नौ र ६ मा पर्ने गरेको छ । बडीमालिकाको धार्मिक महिमा बढाउन बिदा दिन थालिएको त्रिवेणी नगरपालिकाकाका प्रमुख कर्णबहादुर थापाले बताएका छन् । बडीमालिका नगरपालिकाले भने यात्रा सुरुको दिन २० गते र पूजाको दिन २२ गते मात्रै बिदा दिने निर्णय गरेको छ ।
बडीमालिका यात्रामा युवा संघले खटायो स्वयम् सेवक
बडीमालिका यात्रामा बर्षेनी पर्यटक र धार्मिक तीर्थ यात्रुहरूको चाप बढ्दै गएपछि भिडभाड र यात्रा अस्तव्यस्त हुने गरेको छ । ४ हजार २ सय मिटरमाथिको उचाइमा पुग्ने पर्ने यात्रा भएकोले धेरैलाई लेक लाग्ने, हिँड्न गाह्रो हुने, बिरामी हुने र बसाइमासमेत समस्या हुने गरेको छ ।
यात्राकै क्रममा पनि धेरैलाई हिँड्न अप्ठ्यारै भएर बीचबाटोबाटै फर्किनु पर्ने बाध्यता भइरहन्छ । यी समस्यालाई संशोधन गर्न यो वर्ष राष्ट्रिय युवा संघ नेपाल बाजुराले स्वयम् सेवक परिचालन गर्ने भएको छ । युवा संघको तर्फबाट सहजताका लागि ३० जना बढी स्वयम् सेवक परिचालन गरिने जिल्ला संयोजक विष्णु कार्कीले जानकारी दिएका छन् ।
संयोजक कार्कीका अनुसार स्वास्थ्य कर्मी सहित ३० जना स्वयम सेवक गएको बताएका छन् । टिममा युवा संघका केन्द्र, प्रदेश र जिल्लाका नेताहरू पनि सहभागी छन् । अनेरास्ववियु बाजुराले पनि युवा संघको अभियानमा साथ दिने जिल्ला सचिव लक्ष्मण रोकायाले बताए ।
टिममा स्वास्थ्य कर्मीसहितको व्यवस्था गरिएको छ । सामान्य चेकजाँच र औषधी उपचारका लागि पनि टोलीमा स्वास्थ्य कर्मी परिचालन गर्ने र युवा दस्तालाई विशेष उद्धार तथा सहयोगका लागि खटाइएको छ ।
तर पनि बाक्लो भिडभाड र अस्तव्यस्तता सहितको बसाइ र यात्राले धेरैले दुख पाउने गरेका छन् । मनोकाङ्क्षा पुरा गर्न जानेहरूलाई नै थप कष्ट र दुख सहनु नपरोस् भन्ने पवित्र उद्देश्य बोकेर स्वयम सेवक खटाउन लागिएको युवा संघले बताएको छ ।
संघको तर्फबाट बाजुरा र कालिकोटको टिम परिचालन हुने बताइएको छ । टोली बाजुराको मार्तडीबाट सुरु हुने बडीमालिका धार्मिक यात्रा २०८२ को साउन २० गते बिहानबाट खटाइने बताइएको छ ।
औषधी उपचार, पानी, भारी बोक्ने, उद्धार गर्न, पाल व्यवस्थापन गरिदिने जस्ता काममा स्वयम सेवकले गर्नेछन् । भने अन्तिम दिन २३ गते बडीमालिका मन्दिर क्षेत्रको सरसफाइ सहित स्वयम सेवकबाटै गराइने जिल्ला संयोजक विष्णु कार्कीले बताएका छन् ।
सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर
नेपाली सेनाले धार्मिक यात्रा विशेष निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । बाजुरा स्थित ईश्वरीबक्स गुल्मद्वारा निशुल्क स्वास्थ्य सहायता तथा शिविर सञ्चालन गरिने भएको हो । साउन २१ देखि २४ गतेसम्म त्रिवेणी पाटन र बडीमालिका मन्दिर परिसरमा स्वास्थ्य शिविर सञ्चालन गर्ने गुल्मपती सेनानी कृष्ण तिमिल्सेनाले जानकारी दिएका छन् ।
शिविरमा विशेषज्ञ चिकित्सकको टोली, अक्सिजन सुविधा, तथा हेलिकप्टर स्ट्यान्डबाइ सहितको व्यवस्था गरिएको छ । उच्च भौगोलिक क्षेत्रका कारण बडीमालिकामा लेक लाग्ने, अक्सिजनको कमी जस्ता समस्या देखिने भएकाले आकस्मिक अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
सेनानी तिमिल्सेनाका अनुसार, नेपाली सेनाले मेला अवधिभर शान्ति सुरक्षाको व्यवस्था, भीड व्यवस्थापन, तथा मेला सम्पन्न भएपछि सफाइ अभियान समेत सञ्चालन गर्नेछ । साथै, पैदल यात्रीका लागि बाटोसम्बन्धी सूचना, खानेपानी व्यवस्था, अस्थायी शौचालय र टेन्टमार्फत अस्थायी बासको व्यवस्था पनि गरिनेछ ।
ठाउँ ठाउँमा स्वागत गेट र भव्य बिदाइ
धर्तीको भू–स्वर्ग बडीमालिका धार्मिक यात्रा २०८२ लाई यो वर्षबाट थप महत्त्व दिइएको छ । यही अवसर पारी स्वागत गर्ने, सत्कार गर्ने र स्वयंसेवी भावनाले साथ सहयोगका कार्यहरू यो पटक धेरै भएका छन् ।
कसैले ब्यानर गेटमार्फत स्वागत गरिरहेका छन् । भने कसैले पानी, खाना, खाजा दिएर स्वागत सत्कारको क्रम बढिरहेको छ । यात्रालाई थप उत्साही र भव्य बनाउने उद्देश्यले विभिन्न गतिविधि भइरहेका छन् । यही क्रममा नेकपा एमाले बडीमालिका नगर कमिटीले बजार सरसफाइ गरेको छ । नेपाली सेनाले मिनी मालिका मन्दिरको सरसफाइ गरेको छ ।
बडीमालिका र बुढीनन्दा धार्मिक यात्राका लागि सबैजसो मार्तडी भएर नै जाने गरेका छन् । बडीमालिका जान त्रिवेणीको छतारा, कैलाशमाडौं, बडीमालिकाको मना, कोर्ध, बुढीनन्दाको पोरखे र जगन्नाथको लेकबाट पनि बाटो छ । केहीले त्यो बाटो भएर पनि बडीमालिका जाने गरेका छन् ।
बडीमालिका धार्मिक यात्रा विशेष जिल्लामा ठाउँ ठाउँमा गेट निर्माण भएका छन् । स्थानीय तहले आफ्नो पालिका क्षेत्रमा गेट निर्माण गरेका छन् । बुढीगंगा नगरपालिका १, २ र ३ नम्बर वडाले बल्देमा स्वागत गेट निर्माण गरेको छ । बडीमालिका नगरपालिकाले मार्तडीका सबै वडाका मुलद्धारमा स्वागत गेट बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस