बाजुरा : बडीमालिकामा साउन २३ गते लाग्ने धार्मिक मेलाको पूर्वसन्ध्यामा नेपाली सेनाको ईश्वरीबक्स गुल्म बाजुराद्वारा मार्तडीस्थित बडीमालिका मन्दिर परिसरमा सरसफाइ कार्य सम्पन्न गरिएको छ।
सोमबार बिहान, सहायक सेनानीको नेतृत्वमा गरिएको उक्त सरसफाइ कार्यक्रममा मन्दिर वरपरको फोहर व्यवस्थापन गरिएको गुल्मपती सेनानी कृष्ण तिमिल्सेनाले जानकारी दिए। उनका अनुसार, बडीमालिकातर्फ पदयात्रा सुरु गर्ने भक्तजनहरू पहिलो पूजाका लागि यस मन्दिरमा पुग्ने भएकाले सरसफाइ आवश्यक रहेको हो।
यसैबीच, गुल्मद्वारा मेलाको अवसरमा विशेष स्वास्थ्य शिविर पनि सञ्चालन गरिने तयारी गरिएको छ। साउन २१ देखि २४ गतेसम्म त्रिवेणी र बडीमालिका मन्दिर परिसरमा सञ्चालन हुने शिविरमा विशेषज्ञ चिकित्सक, अक्सिजन सेवा, र हेलिकप्टर स्ट्यान्डबाइ राखिने सेनानी तिमिल्सेनाले जानकारी दिए।
बडीमालिका क्षेत्रको उच्च भौगोलिक उचाइका कारण यात्राका क्रममा लेक लाग्ने, अक्सिजनको कमी लगायतका स्वास्थ्य समस्या देखिन सक्ने भएकाले आकस्मिक उपचारका लागि सेना सक्रिय भएको हो। प्रत्येक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन, अर्थात साउन शुक्ल चतुर्दशीमा लाग्ने बडीमालिका मेलामा हजारौं श्रद्धालुहरू सहभागी हुने गर्छन्। यसपटकको मेलाका लागि श्रद्धालुहरूले एक साताअघि देखि पदयात्रा सुरु गरिसकेका छन्।
नेपाली सेनाले स्वास्थ्य सहायता, सरसफाइ, खानेपानी, अस्थायी टेन्ट, शौचालय, साथै शान्ति सुरक्षाको व्यवस्था गरेर मेलालाई सुरक्षित, स्वच्छ र व्यवस्थित बनाउन सहकार्य गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस