बुधबार, ०१ असोज २०८२

धनगढी उप–महानगरपालिकाको टोली पहिलो पटक बडीमालिका धामतर्फ औपचारिक पूजायात्रामा

 

बाजुरा : धनगढी उप–महानगरपालिकाको नेतृत्वमा रहेको एक सरकारी प्रतिनिधिमण्डल पहिलो पटक बाजुरास्थित पवित्र बडीमालिका धामतर्फ औपचारिक पूजायात्रामा प्रस्थान गरेको छ। धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको बडीमालिका यात्रामा धनगढी उप–महानगरपालिकाको सहभागिता ऐतिहासिक मानिएको छ। उक्त टोलीलाई बडीमालिका नगरपालिकाले विशेष आतिथ्यसाथ स्वागत गरेको छ। नगरप्रवक्ता धर्मराज पाध्यायका अनुसार, उप–महानगरपालिकाका उप–प्रमुख नन्दकला रानाथारु, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीसहितको टोलीलाई नगर प्रमुख अमर खड्का, उप–प्रमुख नन्दा थापा र अन्य जनप्रतिनिधिहरूले पुष्पगुच्छा, अविर र टीका लगाएर स्वागत गरेका थिए। नगर प्रमुख खड्काले टोलीको सहभागिता ऐतिहासिक रहेको बताउँदै भने, “यस यात्राले सुदूरपश्चिम प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थप्नेछ।” उप–प्रमुख रानाथारुले बडीमालिका यात्रालाई केवल धार्मिक यात्रामा सीमित नराखी सांस्कृतिक, सामाजिक तथा आन्तरिक पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा लिनुपर्ने धारणा राखिन्। उनले भनिन्, “पवित्र धामको यात्रा समाजमा धार्मिक चेतना मात्र नभई समग्र सुदूरपश्चिमको पर्यटन विकासमा समेत टेवा पुग्नेछ।

” धनगढी उप–महानगरपालिकाको प्रतिनिधिमण्डल पैदलमार्ग हुँदै बडीमालिका धाम पुग्ने योजनासहित यात्रा थालेको हो। साउन महिनाको विशेष अवसरमा आयोजना हुने बडीमालिका यात्रा सुदूरपश्चिमकै एक प्रमुख धार्मिक र सांस्कृतिक तीर्थ मानिन्छ, जसमा प्रत्येक वर्ष हजारौं श्रद्धालुहरू सहभागी हुने परम्परा रहेको छ। 

प्रतिक्रिया दिनुहोस