बुधबार, ०१ असोज २०८२

पत्रकार महासंघ बाजुराद्धारा वीरेखोला घोषणा पत्र जारी, पर्यटन प्रवद्र्धनमा सहकार्यको घोषणा

बाजुरा :नेपाल पत्रकार महासंघ बाजुरा शाखाले वीरेखोला घोषणा पत्र जारी गरेको छ । बाजुरा जिल्लाको समग्र विकास र पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने उद्घोष सहीत ५ बुँदे वीरेखोला घोषणा पत्र जारी गरेको हो ।
महासंघको वीरे खोला झरना आँगनको घागर पर्यटकीय स्थलमा बसेको दोस्रो पूर्ण बैठकले वीरेखोला घोषणा पत्र जारी गरेको अध्यक्ष पदम बहादुर सिंहले बताएका छन् । महासंघ शाखा बाजुराले २०७० साल देखि नै पर्यटन विकासमा बिशेष सहकार्य गर्दै आएको छ ।
तत्कालिन मदनराज जैशी नेतृत्वमा रहेको बाजुरा शाखाले रारामा बैठक बसाएर पर्यटन प्रवद्र्धनको काममा सहकार्यको अभियान अघि बढाएको थियो । भने पोरखे, छेडेदह, नाटेश्वरी सहीतका पर्यटकीय स्थलमा पनि बैठक आयोजना गर्ने र प्रवद्र्धनका काममा सहयोग गर्दै आएको छ । 
यो पटक पनि सुन्दर वीरेखोला झरनाको आँगन क्षेत्र रहेको घागर जंगलमा बैठक बसाएर स्थानीय तह र उद्योण वाणिज्यसँग सहकार्य गरेर जिल्लाका गन्तव्यको प्रचार प्रसार र पर्यटन प्रवद्र्धनका काममा सहकार्य गरि अघि बढ्ने निर्णय सहीत घोषणा पत्र जारी गरेको हो ।
पत्रकार महासंघका सचिव प्रेम रौलेका अनुसार वीरे खोला घोषणा पत्रमा जनैपूर्णिमा विशेष बडीमालिका र बुढीनन्दा सहीतका धार्मीक यात्रालाई थप प्रभावकारी बनाउन महासंघले बडीमालिका बिशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । 
बर्षादको समयमा हुने बाढी पहिरोको जोखिम न्यूनिकरणमा सबै सर्वसाधरण सचेत र जिम्मेवार हुनु पर्ने र सरोकारवाला निकायले विपद पूर्वको तयारीमा रहन सबैलाई अपिल गर्ने निर्णय गरेको छ । भने पत्रकारिताको दीगो व्यवस्थापन र संस्थागत सुधारमा सबै स्थानीय तह र सरकारी कार्यालयसँग समन्वयात्मक बैठक गर्ने र पत्रकारिताको विकासमा सहकार्यको अपिल गर्ने निर्णय गरेको छ । 
बाजुराको विकास र सुशासनको अवस्था सुधारमा महासंघले सहकार्य गर्ने र सबै पालिकालाई पारदर्शी कामकारवाहीका लागि अनुरोध गर्दै मिडिया मैत्री मिडिया ऐन निर्माणका लागि अपिल गरेको छ । पत्रकार महासंघको संस्थागत विकासमामा सहयोग र सहकार्य जारी राख्दै बिशेष गरि वीरेखोला झरना र घागर क्षेत्रमा संरचना र सुविधा जडानका लागि बडीमालिका नगरपालिकासँग अनुरोध गर्ने निर्णय गरेको हो ।
प्रेस चौतारी नेपालका सामाजिक सञ्जाल विभाग प्रमुख कृष्ण ओलीको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको बैठकमा उपाध्यक्ष संगीता तिमिल्सेनाले स्वागत सहीत उदेश्य बारे जानकारी गराएकी थिइन् । 
बैठमा अतिथिको रुपमा सहभागि प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य बसन्त विश्वकर्मा, कानुन व्यवसायी अधिवक्ता तथा सुदूर साहित्य प्रतिष्ठानका अध्यक्ष हर्क खडायत बाजुरा क्याम्पसका स्ववियु सभापति लक्ष्मण रोकाया सहीत सहभागि थिए । आपसी सहकार्य र सद्भावका लागि महासंघले वनभोज समेत आयोजना गरेको थियो । 

 

प्रतिक्रिया दिनुहोस