बुधबार, ०१ असोज २०८२

विद्यार्थी नेतामाथि आक्रमण गर्ने माओवादी नेता भुवनसिंह बिष्टलाई सदस्य नरहनेगरि कारवाही

धनगढी :नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कञ्चनपुरले आफ्नै पार्टी कार्यकर्ता माथि आक्रमण गर्ने भुवनसिंह विष्टलाई पार्टी सदस्यता समेत नरहने गरी कारवाही गरेको छ । सामान्य विषयलाई लिएर अखिल क्रान्तिकारीका प्रदेश इन्चार्ज रामचन्द्र भट्टलाई गरेको आक्रमणको घटनापछि विष्टलाई तत्काल पार्टीबाट निलम्बन गरेको हो । 
पार्टीको भीमदत्त नगर कमिटी सदस्य भुवनसिंह बिष्टले अर्का नेता रामचन्द्र भट्टमाथि साउन ११ गते सशस्त्र आक्रमण गरेको आरोपमा उनलाई पार्टीबाट तत्काल निष्कासन गरिएको हो । 
पार्टीको जिल्ला समन्वय समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पार्टीको नीति, निर्देशिका, सिद्धान्त र आचारसंहिता विपरीत हिंसात्मक कार्यमा संलग्न भएको पुष्टि भएकाले बिष्टलाई तत्काल निलम्बन गरी आवश्यक कानुनी कारबाही अघि बढाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।” 
घटनामा गम्भीर घाइते भएका रामचन्द्र महराको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाइएको छ। पार्टीले उनको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । पार्टीका इन्चार्ज टेकप्रसाद भट्ट र संयोजक खेमराज पाण्डेयद्वारा हस्ताक्षरित विज्ञप्तिमा हिंसात्मक क्रियाकलापप्रति पार्टी गम्भीर भएको र यस्ता गतिविधि कुनै हालतमा सह्य नहुने स्पष्ट गरिएको छ ।
आक्रमणमा संलग्न विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भने घाइतेको महाकाली अस्पताल कंचनपुरमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कंचनपुरका डिएसपी सागर बोहराका अनुसार माओवादी नेता कार्यकर्ताको आपसी छलफलकै बीचमा विवाद भएको बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस