बाजुरा : सदरमुकाम मार्तडी पुग्न वाउली खोली पार गरेरै आउनु पर्छ । कोल्टी क्षेत्रका चार वटा स्थानीय तहले होस्, की बडीमालिका नगरपालिकाका १, २ र ३ सहीत गौमुल र खप्तड छेडेदह गाउँपालिकाबाट आउनेहरुले पनि वाउली खोला पार गर्नै पर्छ । तर दुबै तिरबाट आउनेका लागि बर्षादमा पुलहोस् कि साँघु त्यो बाहेक अर्को विकल्प छैन् ।
वाउलीमा पनि पुल निर्माणको ठेका परेको चार वर्ष बितिसक्यो भने, ठूलीसाँघु स्थित वाउली खोलामा पनि तीनवर्र्ष बितिसकेको छ । तर दुबै तिरका ठेकेदार निर्माण कार्य अलपत्र पारेर फरार छन् । कोल्टी क्षेत्रबाट आउनेहरुका लागि पुरानै पुल छँदैछ । आउन जान सहज नै भइरहेको छ ।
तर ठुलीसाँघुको पुल भत्काएर नयाँ निर्माणको जिम्मा लिएको ठेकेदार फरार भएपछि आवत जावत नै ठप्प बन्यो । आउने जाने यात्रुहरुका लागि समेत वाउली खोलाको जोखिम पूर्ण यात्रा बाहेक अर्को विकल्प रहेछ । प्रहरी प्रशासन देखि राजनीति दल सबै ठेकेदार खोज्न र निर्माण गर्न दबाबमै लागे, तर ३ महिनादेखि ठेकेदार सम्पर्कमा आएका छैनन् ।
असारसम्म वारपारका लागि काठेपुल नै भएपनि निर्माण गर्ने र पक्की पुल आगामी वर्षभित्र बनाइसक्ने बचन सहीत भएको पुल भत्काएर डिकोवल बिल्डर्स प्रा.लि.टंगालका प्रमुख सहीत कोही प्रतिनिधी पनि सम्पर्कमा छैनन् ।
कम्पनीले नै अलपत्र अवस्थामा छोडेर गएको पुलमा काठे साँघु निर्माण गरिएको छ । बडीमालिका नगरपालिकाले आफ्नै पहलमा काठेसाँघु निर्माण गरेको पालिकाले बताएको छ । आउन जानै मुस्कील भएको र गौमुलको सिंगो गाउँपालिका नै सदरमुकामसँग सम्पर्क बाहिर हुने अवस्था आएपछि पक्की पुल नबनेसम्मका लागि काठेसाँघु निर्माण गरिएको हो, पालिका प्रमुख अमर खड्काले बताए ।
पछि निर्माण कम्पनीबाटै असुल्ने वा अर्को कुनै योजना मार्फत खर्च जुटाउने सर्तमा पालिकाले आफ्नै लागतमा साँघु निर्माण गरेको हो । पुल भत्काएर थालेको निर्माण गति देखेर स्थानीय खुसी भएका थिए । तर अन्तिममा आएर ठेकेदार नै फरार भएपछि त्यो खुसी निराशामा परिणत भएको छ ।
गौमुलको सिंगो पालिका, बडीमालिकाकै १, २ र ३ नम्बर वडाको प्रमुख सम्पर्कबाटो हो, ठुलीसाँघु पुल । त्यसैमा बडीमालिका नगरपालिका ९ सदरमुकाम रहेकै वडाको उखाडी, चौराटा टोलका स्थानीय पनि त्यही पुलको प्रयोग गरि आवत जावत गर्ने गरेका छन् । वाउली खोलामा असोजसम्म सहज वारपार गर्न सक्ने अवस्था हुदैन् ।
पुल निर्माणका लागि १६ करोड २१ लाखमा सम्झौता गरिएको थियो । महाकाली पुल योजना कार्यालयका अनुसार ठेकेदारलाई ६ पटक पत्राचार गर्दा पनि बेवास्ता गरेको देखिदैन् । प्रमुख जिल्ला अधिकारी मेघराज पाध्याय सहीत नगर प्रमुख र दलका नेताहरुले समेत ठेकेदारलाई सम्पर्क गरेका थिए ।
पुल निर्माणका लागि २०७७ फाुगन १० गते भ्याटसहित डिकोवल बिल्डर्स प्रा.लि.का प्रमुख होमनाथ कोइरालाले सम्झौता गरेका थिए । पुल ३० मिटर लम्बाई र ११ मिटर चौडाइमा निर्माण गर्नु पर्ने सम्झौतामा उल्लेख छ । उक्त पुल निर्माण पछि तीन वटा स्थानीय तह र छिमेकी जिल्ला बझागसँग सडक सञ्जालमा जोडिने छ ।
वर्षेनी वर्षाद्को समयमा सास्ती खेप्दै आएका नागरिकहरु यो वर्ष थप समस्यामा परेका थिए । नागरिकलाई सास्ती भएपछि नगरपालिका माथि आलोचना बढेको थियो । स्थानीयले काठेपुल समेत निर्माण गर्न नसकेको आक्रोश पोखेका थिए । पालिकाले हप्तादिन लगाएर काठेसाँघु तयार पारेर तत्कालका लागि सहज बनाएको छ । मोटरसाइकललाई समेत काठेसाँघु निर्माण पछि सहज भएको छ ।
पुल निर्माणको सम्झौता सकिन एक महिना बाँकी रहँदा गत माघमा काम सुरु गरेपनि अहिले ठेकदार सम्र्पकविहीन भएको प्रमुख जिल्ला अधिकारी मेघराज पाध्याले बताएका छन् । फलाम सहितको काठेपुल समेत भत्काएर ठेकेदारले पक्की पुल निर्माण कार्य सुरु गरेपनि अहिले काम अस्तव्यस्त भएको छ । भएको काठेपुल भत्काएर पुल निर्माण अलपत्र पारेपछि सकस भएको थियो ।
महाकाली पुल योजना महेन्द्रनगरले ३ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी २०७७ फागुन १० गते सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८१ फागुन ९ गते निर्माण सम्पन्न गर्ने रहेको थियो । तर तिन बर्ष समय सक्दा पनि थोरै काम बाहेक केही काम हुन सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस