बाजुरा : बाजुरामा सवारी दुर्घटना सम्बन्धी कृत्रिम घटना अभ्यास प्रदर्शन गरिएको छ।
मानव संसाधन केन्द्र (एचआरसी) बाजुराको आयोजना, हेण्डिक्याप इन्टरनेसनलको सहयोग तथा जिल्ला अस्पतालको समन्वयमा उक्त अभ्यास कार्यक्रम सम्पन्न भएको छ।
एचआरसी बाजुराका अध्यक्ष निरबहादुर शाहीका अनुसार, सवारी दुर्घटना नियन्त्रण, घाइतेको उद्धार, उपचार तथा पूर्व तयारीसम्बन्धी विषयमा कार्यक्रम केन्द्रित गरिएको थियो।
कार्यक्रममा मालिका माविका विद्यार्थीहरू समेत सहभागी थिए। उनीहरूले दुई गाडीबीचको ठक्करबाट घाइते भएको अवस्थाको अभ्यासमा सक्रिय भूमिका खेल्नु भएकाे छ।
अभ्यासमा सुरक्षाकर्मी, रेडक्रस स्वयंसेवक, स्वास्थ्यकर्मीहरू उद्धारमा खटिएका थिए भने जिल्ला अस्पतालको एम्बुलेन्समार्फत घाइतेलाई उद्धार गरी उपचार गरिएको थियो।
स्वास्थ्यकर्मीहरूले घाइतेको प्राथमिक वर्गीकरण गरी उपचार गरे भने केहीलाई थप उपचारका लागि बाह्य निकायमा रेफर गरिएको अभ्यास गरिएको छ।
बसपार्क क्षेत्रमा गरिएको कृत्रिम घटना अभ्यासपछि जिल्ला अस्पतालमा औपचारिक कार्यक्रमसमेत आयोजना गरिएको थियो।
त्यसमा बोल्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा जनप्रतिनिधिहरूले दुर्घटना तथा विपद्जन्य घटनाका बेला तत्पर रहनुपर्नेमा जोड दिएका थिए।
साथै, सूचनाको ढिलाइ र समन्वय अभावले तत्काल उद्धारमा समस्या भएको अनुभव सुनाउँदै यस्ता अभ्यासहरूले आगामी वास्तविक घटनाको तयारीमा सहयोग पुग्ने जिल्ला अस्पताल बाजुराका प्रमुख चन्द्र शेखर यादवले बताउनु भएकाे छ
अभ्यासले पूर्व योजना, तयारी तथा सरोकारवाला निकायबीचको समन्वयमा सकारात्मक सन्देश दिएको उहाँकाे भनाइ रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस