धनगढी:फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम परियोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रक्रिया सम्पन्न गरेको छ। नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले EIA स्वीकृत गरेसँगै अब परियोजना निर्माण औपचारिक रूपमा अगाडि बढ्ने बाटो खुलेको छ।
२६ अर्ब लागत अनुमान गरिएको यो बहुप्रतीक्षित परियोजनामा ५० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय मापदण्डअनुसारको क्रिकेट रंगशालाको साथै, फुटबल मैदान, पौडी पोखरी, ट्र्याक एण्ड फिल्ड, स्पोर्ट्स म्युजियम, तथा बहु-उद्देश्यीय मल्टि स्पोर्ट्स हल सहितका पूर्वाधार समेटिनेछन्। परियोजनाले सुदूरपश्चिम क्षेत्रलाई ‘खेल पर्यटन’ को केन्द्रमा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ।
परियोजनाका अध्यक्ष सुवाश शाहीले EIA स्वीकृति भएपछि अब स्रोतको सुनिश्चितता गर्दै ग्लोबल टेन्डर प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन्। उनका अनुसार, "फाप्लामा एक दिन विश्वकप आयोजना गर्ने हाम्रो सपना अब यथार्थमा बदलिँदैछ। यो परियोजनाले धनगढीलाई सिटी अफ क्रिकेटको रूपमा विश्वसामु चिनाउनेछ।"
यसअघि नै परियोजनाका लागि आवश्यक जग्गा प्राप्ति, विकास समिति गठन, र विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार भइसकेको छ।
शाहीले परियोजना निर्माणमा सहयोग गर्ने सबै पक्षहरूप्रति आभार व्यक्त गरेका छन्। विशेषतः नेपाल सरकारका परराष्ट्र मन्त्री माननीय डा. आरजु राणा देउवा, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, सुदूरपश्चिम प्रदेश सरकार, विभिन्न नगरपालिका तथा स्थानीय निकाय, प्राविधिक टोली तथा कर्मचारीहरूको योगदान उल्लेखनीय रहेको अध्यक्ष शाहीले बताए।
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम परियोजना पूरा भएपछि सुदूरपश्चिम मात्रै होइन, सिंगो नेपालकै खेलकुद क्षेत्रको संरचना र पहिचानमा अभूतपूर्व योगदान पुग्ने विश्वास लिइएको छ।
प्रतिक्रिया दिनुहोस