शनिबार, २८ असार २०८२

बैतडीको पाटनमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

धनगढी :बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दशरथचन्द राजमार्ग अन्तरगत पाटन नगरपालिका–६ को खिपाली मोडमा शनिबार बिहान ६ बजेतिर सुपप्र०१००१ज१३७२ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका जीप चालक डिलासैनी गाउँपालिका–१ नगराउ बस्ने २४ वर्षीय सन्तोशबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले बताए । गम्भीर अवस्थामा उद्दार गरेर पाटन प्राथमिक स्वास्थ्य केन्द्र पठाइएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा अन्य ६ जना घाइते छन् । घाइते हुनेमा डिलासैनी गाउँपालिका–१ कै ४२ वर्षीय रामबहादुर राना, ५१ वर्षीय कमला धामी, २७ वर्षीय राजेन्द्र बहादुर खत्री, २१ वर्षीया भागरथी खत्री, २ वर्षीया एलिसा खत्री र २५ वर्षीय हेमन्त प्रसाद भट्ट रहेको डीएसपी जोराले बताए ।

उनीहरु मध्ये गम्भीर अवस्थाका कमला धामी र राजेन्द्र खत्रीलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । दुर्घटनाग्रस्त जीप धनगढीबाट गोकुलेश्वरतर्फ गइरहेको थियो । जीप सडकबाट करीब ७० मिटर तल खसेको छ भने दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस