बाजुरा :दुबै मृगौला फेल भएपछि बाजुराको खप्तड छेडेदह गाउँपालिका ५ डोगडीकी सुनिता रावल यतिबेला टिचिङ अस्पताल काठमाडौंमा उपचारार्थ छिन् । गएको जेठबाट नियमित डाइलोसीस गरिरहेकी सुनितालाई आर्थिक अभावकै कारण थप उपचारका समस्या देखिएको छ ।
गरिब परिवार, शून्य आम्दानी, दैनिक रुपमा हजारौं रकम खर्च गर्नु पर्ने भएपछि परिवारलाई उपचार गर्न समस्या भएको छ । परिवारका अनुसार सुनितालाई समस्या समस्या देखिन थालेको ५ वर्ष बढी भयो । तर गएको जेठ २० गते भने उनी उठ्नै नसक्ने गरि थला परिन् ।
बीचमा समस्या देखिएपनि राम्रो चेकजाँचका लागि सुविधासम्पन्न अस्पताल लैजान परिवारले ध्यान दिएन् । उसोत उपचारकै लागि लैजान परिवारसँग आर्थिककै अभाव थियो । तीन भाइकी एक्ली दिदी हुन्, सुनिता । चार दिदीभाइको पालन पोषण र स्कुलको पढाइ गर्न सक्ने अवस्थामा परिवारलाई सहज छैन् ।
खेती किसानीको बेला नेपाल आउने र बाँकी समय भारतमा बसेर परिवार पाल्नु पर्ने बाध्यता छ, उनको परिवारलाई । सुनिताका बुबा मकर रावत भारतमा भारी बोक्ने काम गर्छन् । छोराछोरीको पालन पोषण, पढाइलेखाइ र परिवार खर्च गर्नमै ठिक्क छन् । एकाएक छोरी विरामी भएपछि उनलाई थप संकट आइलागेको छ ।
आफन्त छिमेकी र केही रकम ऋण निकालेर उनले छोरी काठमाडौं पुर्याए । चेकजाँच गरे । लगत्तै अस्पतालले मृगौला फेल भइसकेको र तत्काल डाइलोसिस गरिहाल्नु पर्ने सुझाव दियो । एकतिर छोरीको ज्यानको चिन्ता, अर्को तर्फ आर्थिक जुटाउन चुनौतिक मकर यतिबेला दोहोरो पीडा र प्रहारमा छन् ।
राम्रो पढाइ, भविष्यमा केही गर्ने सपना बोकेकी सुनिता रावत उमेरले १६ पुगिन्, । उनी मष्टेश्वरी मावि डोगडी कक्षा १० मा पढिरहेकी छन् । साथीहरुमाझ केही राम्रो गर्ने इच्छाशक्ति र लगनशिलता भएकी छात्रा हुन, सुनिता । जब विरामीले थला परिन्, उनलाई भविष्यको सपना पुरा नहुने चिन्ता बढेको छ ।
आफूभन्दा साना भाइहरुलाई हुर्काएर विहे गर्ने र केही राम्रो गरेर देखाउने सपना पुरा गर्न उनको ज्यान जोगिनु पर्ने छ । यो परिवारबाटै संभव छैन् । सबैको साथ र सहयोग मागिरहेकाछौं, उनको छिमेकी दाइ डम्मर रावतले बताए ।
परिवारको आर्थिक अवस्था हेर्दा काठमाडौंसम्मको भाडा समेत आफै जुटाउने हैसियत छैन् । नियमित डाइलासिस गर्ने, मृगौला फेर्ने सपना धेरै टाढाको छ । अस्पतालले विरामी कक्षमै राखेर नियमित उपचार गर्न सुझाव दियो, तर नियमित लाग्ने खर्च गर्न आर्थिक नभएपछि आफन्तले आफन्त बस्ने कोठामा लिएर राखेका छन् ।
पालिका देखि प्रदेश सरकारसम्म र व्यापारी देखि समाजसेवी सबैतिर आफन्त धाइरहेका छन् । कति पैसा लाग्ने हुन्, त्योपनि अस्पतालले बताइसकेको छैन् । मृगौला जुटाउनु पर्ने अर्को चुनौति छ । मृगौला भेटिएपनि, प्रत्यारोपणका लागि लाग्ने खर्च समेत जुटाउन परिवारलाई मुस्कील छ ।
पालिका सरकारले आफ्नो तर्फबाट बेहोर्नु पर्ने रकम दिने र बाँकी प्रक्रियाका लागि सम्बन्धीत निकायमा पत्र पठाइदिएको छ । तर यस्ता विरामी देशभर कति कति छन्, सबैलाई राज्यले सहजै निशुल्क उपचार गरिदिने अवस्था छैन् । जताबाट भएपनि मृगौला र आर्थिक रकम जुटाउँनै पर्ने छ । परिवारले सबैलाई सुनिताको ज्यान बचाइदिन सार्वजनिक अपिल गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस