बाजुरा :बडीमालिका नगरपालिकाले बाउली खोलाको जोखिमपूर्ण बाटोमा फलामे सिँढी जडान गरेको छ। मार्तडी–कोल्टी सडकखण्डअन्तर्गत झोलुंगे पुलको मुखमा रहेको जीर्ण र अप्ठ्यारो पक्की सिँढी हटाएर नयाँ फलामे सिँढी राखिएको छ।
जीर्ण सिँढीबाट ज्यानको जोखीम मोलेर आवतजावत गर्दै आएका स्थानीयको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले सिँढी निर्माण गरेको जनाएको छ। असार १५ गते नगर प्रमुख अमर बहादुर खड्काले स्थल अनुगमन गरेलगत्तै सिँढी जडान गरिएको बताए ।
स्थानीयहरूका अनुसार पहिलाको तुलनामा अहिले आवतजावत सहज र सुरक्षित बनेको छ। वर्षायाममा सडक अवरुद्ध हुँदा मार्तडीदेखि बडीमालिका–७ तथा पूर्वीउत्तरी क्षेत्रतर्फ यही बाटो प्रमुख वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको नगर प्रमुख खड्काले बताए ।
नगर प्रमुख खड्काले नागरिकको सुरक्षालाई ध्यानमा राख्दै सिँढी निर्माण गरिएको जानकारी दिएका छन्। यसअघि सिँढीको आधारका लागि राखिएको ग्याबिन जालीसमेत भासिएर बाटो झन् जोखिमपूर्ण बनेको थियो ।
प्रतिक्रिया दिनुहोस