शनिबार, २१ असार २०८२

राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारबाट बाजुराका शाह र थापा सम्मानित हुने

सम्मानित हुने सातै प्रदेशका स्रष्टाहरूको नाम सार्वजनिक

धनगढी : नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०८१ बाट सम्मानित हुने स्रष्टाहरुको नाम सार्वजनिक गरेको छ । असार १८ गते बसेको मन्त्री स्तरीय बैठकबाट निर्णय गरेर तीन वटा विधा तर्फका स्रष्टाहरुको नाम सार्वजनिक गरेको हो ।

नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत हरेक वर्ष राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार दिदै आएको छ । भाषा तथा साहित्य, संस्कृति, र संगीत तथा नाटक विधामा उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वहरूलाई यस वर्षको पुरस्कारका लागि चयन गरिएको हो ।

संगीत तथा नाट्य विधा तर्फ बाजुराबाट दुई जना सम्मानित हुने भएका छन् । तीन दशक देखि सांगीतीक यात्रामा सक्रिय गीतकार तथा कवि राजेन्द्र शाह बिपी र दुई दशक देखि देउडा गायनको क्षेत्रमा सक्रिय प्रकाश बहादुर थापालाई सम्मान गर्ने निर्णय गरेको छ । 

तीन विधाका २१ जना प्रादेशीक प्रतिभा पुरस्कार र ३ जना राष्ट्रिय प्रतिभा सम्मान पुरस्कारका लागि छनोट भएका छन् । ती मध्ये २ जना बाजुराकै परेका छन् । यस अघि बाजुराकै देउडा गायक तथा सर्जक, संगीतकार लालबहादुर थापा पनि सम्मानित भएका थिए । 

यो पटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बाजुराकै बद्री प्रसाद पाण्डे छन् । भाषा तथा साहित्य विधामा थापा र शाह दुबै जनाले महत्वपूर्ण योगपादन पुर्याएका छन् । दुबै जनाले देउडा गीतको संगीतीक यात्रामा शब्द र स्वरले एकछत्र राज गर्दै आएका छन् ।

संगीत तथा नाटक विधामा राष्ट्रिय प्रतिभा पुरस्कारबाट बाजुराको बुढीगंगा नगरपालिका–४ निवासी राजेन्द्रबहादुर शाह (राजेन्द्र शाह वी.पी.) लाई प्रदान गर्ने निर्णय गरेको छ । भने सोही विधा तर्फ प्रादेशिक प्रतिभा पुरस्कार प्रकाश बहादुर थापाले पाउने छन् । 

भाषा तथा साहित्य विधामा राष्ट्रिय प्रतिभा पुरस्कारको लागि पर्साको पोखरिया नगरपालिका–७ का अनुप कोइराला ‘अनभिज्ञ’ लाई छनोट गरिएको छ । यसै विधामा प्रादेशिक पुरस्कार प्राप्त गर्नेहरूमा मोरङका रमेश ढुंगेल (कोशी), धनुषाका रमेशकुमार यादव (मधेश), भक्तपुरका श्यामप्रसाद उप्रेती (बागमती), लमजुङका दीर्घराज सुवेदी (गण्डकी), दाङका नवराज पन्थ (लुम्बिनी), सुर्खेतका करन बहादुर महत (कर्णाली), र बैतडीका नेत्र बहादुर भट्ट (सुदूरपश्चिम) रहेका छन् ।

संस्कृति विधातर्फ पर्वतको पाखापानीस्थित वडानम्बर ६ का डा. सोमबहादुर विश्वकर्मा राष्ट्रिय पुरस्कारका लागि चयनमा परेका छन् । यस विधाको प्रादेशिक सम्मान प्राप्त गर्नेहरूमा  भोजपुरका चमकलाल राई (कोशी), रौतहटका शैलेन्द्र मित्तल (मधेश), दोलखाका ताराकाजी गुरुङ (बागमती), गोर्खाका भक्ति प्रसाद शर्मा (गण्डकी), बाँकेका टीकाराम थारु ‘टीका धामी सागर’ (लुम्बिनी), कालिकोटका मोहितराज शाही (कर्णाली) र बैतडीका देवराज प्रसाद भट्ट (सुदूरपश्चिम) रहेका छन् ।

संगीत तथा नाटक विधामा बाजुराको बुढीगंगा नगरपालिका–४ निवासी राजेन्द्रबहादुर शाह (राजेन्द्र शाह वी.पी.) लाई राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिनेछ । यस विधामा प्रादेशिक स्तरमा पुरस्कृत हुनेहरूमा सुनसरीका निखिल किरण चौधरी (कोशी), सर्लाहीका सिताराम बिस्वास (मधेश), काठमाडौंका सुरेन्द्र शर्मा (बागमती), कास्कीका दिनेश सापकोटा (गण्डकी), रोल्पाका जयराम बस्नेत (लुम्बिनी), सुर्खेतका नरेन्द्र परियार (कर्णाली) र बाजुराका प्रकाशबहादुर थापा (सुदूरपश्चिम) रहेका छन्।

पुरस्कार छनोट कार्य संस्कृति मन्त्रालयअन्तर्गत गठन गरिएको राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार समिति, २०८१ ले गरेको हो । मन्त्रालयका अनुसार चाँडै एक विशेष कार्यक्रममार्फत सबै स्रष्टाहरूलाई सम्मान गरिनेछ । यस सम्मानमार्फत विविध सांस्कृतिक, भाषिक र सिर्जनात्मक अभ्यासमा लागेका प्रतिभालाई प्रोत्साहन मिल्ने विश्वास गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस