बाजुरा : हिंसामा परेका महिलाहरुको सुरक्षा र संरक्षणका लागि निर्माण गरिएको अत्पकालिन महिला सुरक्षित आवास गृह भवनको उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया र उपप्रमुख लाछु सार्कीले सयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
बडीमालिका नगरपालिका ८ को थापावाडामा निर्माण भएको भवनको औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको कार्यालयका वाडेन सिता विकले जानकारी दिएका छन् । प्रदेश सरकारको ५० लाखको लागतमा ४ कोठे भवन निर्माण गरिएको हो । भने बडीमालिका नगरपालिकाको १५ लाख र सुरक्षित आवास गृहकै आफ्नै ७ लाख लागतमा जमिन खरिद गरिएको थियो ।
जिल्लाका नौ वटै पालिकाका हिंसामा परेका महिलाहरुको संरक्षण र सुरक्षाका लागि भवन निर्माण पछि थप सहज हुने बडीमालिकाका नगर उपप्रमुख नन्दा थापाले जानकारी दिएकी छन् । हाल जिल्ला समन्वय समिति अन्र्तगत आवास गृह सञ्चालनमा छ । भने त्यसको व्यवस्थापनको रुपमा युएनएफपीएले पनि सहयोग गरिरहेको छ । आवास गृह निर्माण र सञ्चालनमा बडीमालिका बाहेकका नौ वटै पालिकाको पनि लगानी र सहयोग रहेको छ ।
उद्घाटन समारोहमा समन्वय समिति प्रमुख उपप्रमुख र उपप्रमुख सहीत बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्का, बुढीनन्दा नगरपालिकाका प्रमुख जनक कुमार बोहरा, हिमालीका अध्यक्ष गोविन्द्र मल्ल, खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावत, जगन्नाथका उपाध्यक्ष मरुकला विष्ट, खप्तड छेडेदह गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नन्दबहादुर रावत, समन्वय समितिका अधिकृत दिपेन्द्र पाण्डे सहीत सहभागि थिए ।
बाजुरामा २०७३ सालदेखि आवास गृह सञ्चालनमा आएको हो । हिंसामा परेका महिला र तीनका बालबालिकाका लागि सुरक्षित घर जस्तै बनेको छ । गएको साउन यता मात्रै १ सय ३५ जनाले सेवा लिएका छन् । भने २२ जना बीचमा फेरि हिंसाको सिकार बनेर संरक्षणका लागि फर्किएको वाडेन सीता विकले बताएकी छन् ।
सेवा लिने मध्ये ३९ जना बालबालिका मात्रै छन् । आवास गृहमा हाल विमला रावल प्रमुख र सीता विक वाडेनको रुपमा कार्यरत छन् । चौकीदार सहीतको व्यवस्थापन गर्ने तयारीमा समन्वय समिति देखिएको छ । नौ वटै स्थानीय तहले रकम सहयोग गरेर आवासलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्नु पर्ने सुझाव रुक्मीणी शाहको छ ।
शाह जिल्ला महिला अधिकार मञ्चको अध्यक्ष भएकै समयमा युएनएपीए, पीसविन सहीतका गैर सरकारी संस्थाको साथ सहकार्यमा सञ्चालन गरिएको हो । आवास गृह हिंसा पीडितका लागि संरक्षण दिने अभिभावक र बस्ने घर जस्तै भएको बडीमालिका नगरपालिकाका नगर प्रमुख नन्दा थापाले बताइन् ।
जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले आफ्नै सुरक्षित भवन समेत निर्माण भएर सञ्चालनमा आएको आवास गृहलाई थप व्यवस्थीत बनाउन सबैपालिकाको आवश्यक सहयोग चाहिने बताएका छन् । स्थानीय तहका प्रमुख उपप्रमुखहरुले पनि सहयोग गर्ने वचन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस