धनगढी : लामो समय विकास र सुविधाको गन्ध समेत नपाएको बिच्छ्या यतिबेला विजुली बत्तीले झिलिमिली बनेको छ । जिल्लाकै सर्वाधिक विकट क्षेत्र हो । साविक २७ गाविस मध्येको एक बिच्छ्या हाल हिमाली गाउँपालिका १, २ र ३ नम्बर वडाको भूगोलले परिचित छ । त्यही बिच्छ्या गाउँ पञ्चायत देखि बहुदलसम्म कुनै सुविधा र विकासले नजिक रहेन् । समस्या र अभावमा बाँचिरह्यो । तर यतिबेला भने बिच्छ्या उज्यालो देखिएको छ । गाउँहरु विजुली बत्तीले झिलिमिली बनेका छन् ।
जडीबुटी र पशुपालनको प्रचुर संभावनाको क्षेत्र बिच्छ्या अब विजुली पुगेसँगै सडक पुहँच विस्तारको पर्खाइमा छ । यतीबेला हिमाली गाउँपालिका १, २ र ३ नम्बर वडाका ६ सय ८२ परिवारले विजुली सुविधा पाएका छन् । त्यो उनीहरुलाई कल्पना बाहिरको विषय थियो । ६ सय ८२ परिवारका ३ हजार ८ सय ६७ जना उज्यालोसँगै जोडिएका छन् ।
बिच्छ्यामा हिमाली गाउँपालिकासँगको सहकार्यमा कादुरी एग्रिकल्चरल एण्ड एसोसियन ब्रिटिस गोर्खाज् नेपाल’ संस्थाले विद्युत निर्माण गरेको हो । २०८२ को जेष्ठसम्म विजुली बाल्ने लक्ष्य थियो । तर संस्थाले निर्माण अवधी नसकिएको २ महिना भित्रै विद्युत घरघर लाइन विस्तार सहीत बिजुली बत्ती बालिसकेको छ ।
हिमाली गाउँपालिका २ मा पर्ने नातिखोलाबाट विद्युत उत्पादन गरिएको छ । विद्युत आयाजनाकै नाम नातीखोला लघुजलविद्युत् आयोजना राखिएको छ । कादुरी एग्रिकल्चरल एड एसोसियन ब्रिटिस गोर्खाज्कै सम्पूर्ण लगानीमा निर्माण कार्य सकाएर विजुली बल्न सुरु भइसकेको संस्थाका प्राविधिक निर्देशक डाक्टर नारायण गुरुङले जानकारी दिए ।
१ सय किलोवाट क्षमताको विद्युतलाई बिच्छ्या क्षेत्रका बस्ती बाहेक छिमेकी जिल्ला हुम्लाको ताँजाकोट गाउँपालिका मासफुर बस्ती समेत लाभान्वीत हुनेछ । विद्युत निर्माणमा १४ करोड ५५ लाख रुपैयाँ लागत खर्च गरिएको छ ।
त्यही विद्युतबाट क्युडी गाउँका १ सय २० परिवारका लाथि पनि लाइन विस्तार गरिने तयारी थालिएको स्थानीय अगुवा साजन थापाले बताएका छन् । पुस्तौदेखी अँध्यारोमा स्थानीयलाई उज्यालो पाएपछि नयाँ संसार भेटिएको खुसी व्यक्त गरेका छन् ।
पालिकासँगको सहकार्यमा निर्माण गरिएको विद्युतले दुर्गम गाउँको सपना पुरा गरेको र पालिकाको सिंगो विकासमा ठूलो योगदान पुर्याएको गाउँपालिका अध्यक्ष गोविन्द्र बहादुर मल्लले बताएका छन् । मल्ल स्वयमले विद्युत आयोजनाको उद्घाटन गरेका हुन् । उद्घाटनका लागि उपाध्यक्ष राजकला सार्की, वडा अध्यक्ष सहीत जनप्रतिनिधी बिच्छ्या पुगेका थिए ।
निर्माण कार्य गएको वर्षमात्रै सुरु गरिएको हो । संस्थाले विद्युत निर्माणका लागि सडक बाटो संभव थिएन् । अहिलेसम्म पनि बिच्छ्या बाटो निर्माणको कुनै योजना छैन् । बजेट माघ गरिएपनि आवश्यक बजेट नआउने हुँदा योजना अघि बढाउन पनि पालिकालाई समस्या छ । थोरै बजेटले कुनै काम नै नहुने हुँदा पालिकाले बिच्छ्या सडक पुर्याउन संघ र प्रदेश सरकारकै मुख हेरि बस्न बाध्य छ ।
हेलिकप्टर मार्फत निर्माणका समान र विद्युतका सामानहरु ढुवानी गरिएको थियो । सडक पहुँच नभएकै कारण खर्चिलो तरिकाले विद्युत निर्माणको काम सक्नु परेको संस्थाले बताएको छ । हिमालीमै विद्युत निर्माण गरेको कादुरीले बाजुराकै गौमुल गाउँपालिका १ र २ नम्बर वडालाई लक्षित हुने गरि विद्युत आयोजना र पुल पुलेसा निर्माण गरेको थियो ।
कादुरी एग्रिकल्चरल एड एसोसियन ब्रिटिस गोर्खाज् नेपाल संस्थाले बिजुली बाल्ने काम सम्पन्न गरेसँगै बिच्छयाँमा ४ स्थानमा झोलुङ्गे पुल, खानेपानी योजनाका साथै विद्यालयमा चार कोठे शौचालय र खानेपानी व्यवस्थापन गर्ने योजना बनाएको छ । बिच्छयाँ बाजुराको पनि दुर्गम र पीछडिएको क्षेत्र भएकै कारण कादुरीले आफ्नो लगानी गरेको हो ।
कादुरी आउनु अघि बिच्छ्यामा तत्कालिन नेपाल सरकार र फिल्याण्ड सरकारको सयुक्त सहकार्यमा सञ्चालन गरिएको ग्रामिण जलश्रोत व्यवस्थापन परियोजना मार्फत विद्युत, खानेपानी र संरचना विकासको काम थालिएको थियो । तर त्यो बीचमै अधुरै रह्यो । खरिद गरिएको विद्युतका पोलसमेत बीचमै चोरी भएका थिए ।
बाजुरा सदरमुकाम मार्तडीबाट कुनै गाउँपुग्न तीनदिनको पैदल हिँड्न पर्छ । ती बस्तीमा समेत विजुली पुर्याउने योजना बनाएर पालिकाको विकासमा कादुरीले धेरै सहयोग गरेको र त्यही सहयोगबाट स्थानीयका बर्षौदेखिका सपना पुरा भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए । दुर्गम गाउँहरु विजुलीले झिलिमिली भएपछि पालिका सरकार देखि स्थानीय सबै खुसी भएका छन् ।
राज्य लोड सेडिङमुक्त देशको कुरा गरिरहेको बेला देश भित्रकै भूगोलका स्थानीयले विजुलीको उज्यालो कस्तो हुन्छ, तस्वीरमा समेत देख्न नपाएको अवस्था बिच्छ्या बासीका लागि थियो । भूगोलले टाढा पर्ने बिच्छ्यामा विकासका पूर्वाधार अन्य सुविधा र अवसरले पनि दुर्गम नै छ ।
हिमाली गाउँपालिका नेपाल सरकारका वर्तमान सँस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री प्रसाद पाण्डेको गृह पालिका पनि हो । हाल हिमालीका ३ वटा वडा रहेको बिच्छ्यामा २०७८ को जनगणना अनुसार ३ हजार ३ सय ७१ जनसंख्या बसोबास छ ।
प्रतिक्रिया दिनुहोस