धनगढी : सुदूरपश्चिम प्रदेश सभाले ४३ जना प्रदेश सांसदहरूलाई नयाँ ल्यापटप दिने तयारी गरेको छ । विकास निर्माणका काममा गति दिन नसकेको र कानून बनाउन सुस्त रहेको प्रदेश सभाले सांसदहरुलाई झण्डै आधा करोडका ल्यापटप बाँड्न लागेको हो ।
प्रदेश सरकारमा सहभागी भएका मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्री बाहेककालाई दिन लागेको हो । दैनिक काम कारवाही चुस्त बनाउन र प्रविधीमैत्री काममा सांसदको भूमिका र जिम्मेवारी बढाउन महँगो ल्यापटप वितरण गर्न लागिएको प्रदेश सभाले बताएको छ । प्रदेशसभा सचिवालयले नयाँ ल्यापटप खरिदको प्रक्रिया समेत अगाडि बढाइसकेको छ ।
सुदूरपश्चिम प्रदेश सभामा ५३ जना प्रदेश सभा सदस्य छन् । ती मध्ये ४३ जना सांसदका लागि ल्यापटप खरिद गर्न लागेको हो । जसका लागि ४७ लाख २९ हजार ९ सय ९३ रुपैयाँ ५५ पैसामा टेन्डर भएको छ
‘खरिदका लागि टेन्डर ३० दिनको टेन्डर आह्वान भइसकेको छ । त्यसपछि वितरण गरिने प्रदेशसभा सचिव देवबहादुर बोगटीले बताएका छन् । प्रदेश सभाको अघिल्लो कार्यकालमा पनि २७ लाख खर्च गरेर सांसदका लागि ल्यापटप खरिद गरेको थियो । ती मध्ये केही संसद्को कार्यकाल सकिँदासम्म पनि ल्यापटप बुझाएनन् । बुझाएका मध्ये सबैजसो काम नलाग्ने अवस्थामा छन् ।
पहिलोका ल्यापटप काम नलाग्ने भन्दै गोदाममै थन्क्याएर नयाँ ल्यापटप खरिद गर्न लागेको हो । पुराना ल्यापटप काम नलाग्ने अवस्थामा पुगेपछि नयाँ खरिद गर्ने प्रक्रिया अगाडी बढाइएको दाबी सचिव बोगटीको छ ।
प्रदेश सभा सदस्यहरूलाई ल्यापटप दिन प्रदेश सभा सचिवालयले तयारी गर्दा स्वयं प्रदेश सभा सदस्यहरू भने यस विषयमा विभिन्न टीकाटिप्पणी सुरु भइरहेको बताउन थालेका छन् । केही सांसदहरुले भने सुविधाभोगी भएको भन्ने गलत सन्देश जाने बताएका छन् । तरप िखरिब प्रक्रियामा सबैको सहमती र एकमत देखिन्छ ।
यता नेकपा एमाले प्रमुख सचेतक चक्र मल्लले यस विषयमा छलफल नभएको बताउँछन् । ‘प्रदेश सभा सदस्यहरूसँग छलफल गरेर ल्यापटप लिन लागिएको होइन । हामीलाई आवश्यक पर्ने ल्यापटप हामीसँग नै छ’ उनले भने ‘अघिल्लो कार्यकालमा पनि ल्यापटप दिइएको थियो रे, मिल्छ भने त्यही प्रयोग गर्दा राम्रो ।’
नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले प्रविधिको सही सदुपयोग गर्नु पर्ने भन्दै आवश्यकताको आधारमा माग गरिएको बताएका छन् ।
स्वतन्त्र सांसद डा. तारा जोशीले पनि नयाँ ल्यापटप खरिद गरेर राज्यलाई आर्थिक भार बढाउनु भन्दा अघिल्लो कार्यकालमा रहेका ल्यापटपलाई मर्मत गरेर वितरण गर्दा उपयुक्त हुने बताउँछन् ।
प्रविधी हो, प्रयोग गर्न पर्छ । दैनिकजसो कामकाज सहज हुने, डायरीमा मात्रै टिपोट गर्दापनि अवधीभरिका लागि थप सहज हुने भनाई सांसदहरुको छ । अहिले सांसदका विधेयक छैन । संसद् चलिरहेको छैन । सांसद काम विहिन छन् ।
प्रतिक्रिया दिनुहोस