आइतबार, २९ असार २०८२

भीम रावलको धनगढी जागरण भेला : ओली र एमाले माथि रिस पोख्ने थलो

धनगढी  : भीम रावलको मातृभूमि जागरण अभियानको जागरण भेला धनगढीमा सकिएको छ । नेकपा एमालेले पार्टीबाट निष्कासन गरेपछि रावलले काठमाडौंमा पत्रकारसम्मेलन मार्फत अभियानको घोषणा गरेका थिए । एमालेले रावललाई पौष १० गते केन्द्रीय कमिटीको बैठकबाटै साधारण सदस्य समेत नरहने गरी कारवाही गरेका थियो । रावल एमालेको पूर्व उपाध्यक्ष र नेपाल सरकारका पूर्व उपप्रधान तथा रक्षा र गृह मन्त्री भइसकेका नेता हुन् ।

ती रावलले माघ ४ गते गृह जिल्ला अछाम पुगेर जागरण अभियानको सुरुवाद गरे । अछामको साँफेबगरमा औपचारिक कोण सभा मार्फत जागरण भेलामा जोडिन अपिल गरेका रावलले करिब महिनादिन अछाममै बिताए । विभिन्न कार्यक्रममा सहभागि भए । र साँफेबगर नगरपालिकामा जागरण अभियानका वडा कमिटी समेत गठन गर्न भ्याए । तीनै भीम रावलले शनिबार सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको धनगढीमा पनि मातृभूमि जागरण अभियानको जागरण भेला आयोजना गरेका छन् ।

अभियानको औचित्य बारे जानकारी दिने र देशभक्तहरुलाई एकतावद्ध गराउने उदेश्य भेलाको थियो । होटल पौवामा आयोजित भेलालाई आफ्नो शक्ति प्रदर्शनका रुपमै लिएका थिए, भीम रावलले । जागरण भेलालाई बिशेष गरि नेकपा एमालेले रावलको शक्ति देखाउने कार्यक्रम र प्रभाव देखिने मञ्चका रुपमा लिएको थियो । २५ गते माघ पत्रकार सम्मेलन मार्फत जागरण भेलाको सूचना दिएका रावलले पहिलो प्रदेश स्तरीय भेलालाई खासै अर्थपूर्ण र प्रभावी बनाउन सकेनन् ।

न पार्टी छोड्नेहरुको भीड लगाउने सके, न आफ्नो पक्षमा बाक्लो उपस्थिति नै गराउन सके । हलमा भरिभराउ जस्तो संख्या देखिएपनि त्यो अनुमानभन्दा धेरै कम संख्या र समर्थन देखिएको एमालेका एक नेताले बताए । उनको प्रचार र फोनसम्पर्कको सूचना हेर्दा व्यापक हुने, सबै दलहरुका नेता कार्यकर्ता प्रवेश हुने जस्तो तामझाम थियो, तर अन्तिममा त्यसो हुन सकेन् । 

बरु भीम रावलले जागरण भेलालाई नेकपा एमाले र पार्टी अध्यक्ष केपीशर्मा ओली माथि रिस र आक्रोश पोख्ने थलोका रुपमा रावलले प्रयोग गरेको देखियो । रावललाई पूर्व एमाले नेता एवं प्रदेश मन्त्री कृष्णराज सुवेदी र पूर्व एमाले नेता गोविन्द्र कुँवर बाहेकले पत्याएको देखिएन् । मञ्चमा बस्ने प्रभाव राख्ने अन्य नेताहरुको अनुहार पनि रावलको जागरण भेलामा देखिएन् । 

भेलामा सहभागि अनुहार हेर्दा एकीकृत समाजवादी पार्टी नेता कार्यकर्ताहरु नै बढी देखिए । नेकपा एमाले र नेपाली काँग्रेस, केही नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुको सहभागि कम देखियो । सहभागि भएका मध्येपनि अधिकांश अनुहार अछाम जिल्ला घर भई धनगढीमा बसोबास गर्नेहरु नै थिए । त्यसमा पनि रावलकै गृहपालिका साँफेबगरका थिए । 

रावल कुनै बेला नेकपा एमाले भित्र सिंगो सुदूरपश्चिमका ब्राण्ड र एकल नेतृत्व हुन् । उनी पछि लाग्नेहरुको बाक्लै लाम र रौनक हुन्थ्यो । माला खादा सहीत विमान स्तर पुग्ने अधिकांश नेता कार्यकर्ता जागरण भेलामा देखिएनन् । साथमा रहेर लामो समय सहकार्य गरेर साथ दिएका र फाइदा लिएकाहरु पनि कार्यक्रममा रावलको भाषण सुन्नकै लागि भएपनि पुग्न आँट गरेनन् ।

जागरण भेला ओली र एमाले माथि नै केन्द्रीत बन्यो । घण्टा लामो रावलको भाषण देश जति बिग्रेको छ, जति समस्या उत्पन्न छन्, ती सबै केपी शर्मा ओली र नेकपा एमालेकै कारण भएको हो, भन्नेमा सीमित बन्यो । लाग्छ रावल कुनै बेला एमाले थिएनन्, र एमालेसँगै नभएकै कारण उनले स्वस्थ आलोचना गरिरहेका छन् । 

रावलले नेकपा एमाले कम्यूनिष्ट विचार सिद्धान्त बोकेको पार्टी नै नभएको समेत भन्न भ्याएका छन् । ‘जनताको बहुदलिय जनवादको मर्म, भावना र सिद्धान्त एमालेले कतै बोकेकै देखिदैन्, एमाले भित्र ओली गुट मात्रै छ । उनले भने ओली गुटले देश र जनताको हित गर्दैन् ।’ ओली इतिहासकै राजनीतिक गद्दार भएको बताए । 

उनको भाषणमा रिस, आक्रोश र कुण्डा बढी भेटिएको सहभागि मध्येहरुले नै प्रतिक्रिया दिन भ्याए । विचार, योजना र अभियानको औचित्य बारे जानकारी लिन आइयो, आक्रोश र रिस मात्रै त्योपनि ५१ वर्ष आफैले काम गरेर र आफू स्वयम नेता भएको पार्टी माथि नै देख्दा दया लाग्यो, स्वतन्त्र विचार राख्ने बताउने एक सहभागि युवकले बताए ।

देशको स्वार्थ भन्दा माथि व्यक्तिको स्वार्थलाई राखेर शासन सञ्चालन गर्ने काम ओलीबाट भइरहेकोले त्यसका विरुद्धमा सबै देशभक्त नेपालीहरु एकजुट हुनु पर्ने रावलको जोड थियो । देशको हालत यस्तो हुनु ओलीकै कारण हो, सिंगो नेकपा पार्टी र कम्यूनिष्ट आन्दोलनलाई समाप्त पार्नुमा ओली नै प्रमुख दोषि हुन्, इतिहासले क्षति दिने छैन्, रावलले भने ।

ओली नेतृत्वको सरकारले असमान सन्धी सम्झौता गरियो । भूमि विदेश कम्पनीले कब्जा गर्ने गरि एमसीसी सम्झौता गरियो, नेपालका नागरिकलाई विदेश पठाउने र विदेशीलाई नेपाली बनाएर देश विक्री गर्ने योजना समेत बनिसक्यो, अब त्यो सबै प्रकारको राष्ट्रघात रोक्न देशभक्तहरु एकठाउँमा उभिनु पर्छ, अगुवाई मातृभूमि जागरण अभियानले गर्छ, भन्दै साथ दिन अनुरोध गरे ।

केपी ओलीले सिद्धान्त विपरित काम गरिराख्नु भयो । होलीवाइनवालाई १ नम्बर सांसद बनाउने काम गर्नु भयो । बलिदान र योगदानको कदर नै ओली एमालेमा हुन सकेन् । वास्तविक एमालेलाई अन्यायमा पार्ने काम भइरहेको थियो, त्यसका विरुद्ध बोल्दा पार्टीबाटै निष्कासन गरिएको आरोप रावलको थियो ।

मैले उठाएका विषय गलत थिएनन् । ओली विरुद्ध उम्मेदवारी अध्यक्षमा उम्मेदवारी दिनु गलत थिएन् । झलनाथ खनाल र माधव कुमार नेपालसँग ओलीले चुनाव लड्न हुने । मसँग किन नहुने, कि मेरो उमेर कम भयो की, सुदूर पश्चिमको भएर हेपियो की रु सुपका मान्छेले हुनै नपाउने हो की रु ओली गुटको एमालेले सिंगो सुदूरपश्चिम माथि अन्याय गरेको छ, प्रतिवाद गर्नै पर्छ, ओलीले हलका सहभागिको मन जित्न कोशीस गरे । 

पार्टीको विधान, देशको संविधान मिच्ने ओली, सत्य बोलेवापत पार्टीबाट हटाउने ओली, हिजो पार्टीको उदेश्य छोड्यो, केपी ओली र वरिपरी बस्नेहरु सिद्धान्तबाट च्यूत भइसके, अब एमाले रहेन, ओली गुट र बामाले मात्रै रह्यो, रावलको आक्रोश थियो । रावलले कसरी अगाडि बढ्ने कुरामा सबैको सुझाव लिने र स्वाधिनता, जनताको हित, बलियो अर्थनीति र स्वतन्त्र परराष्ट्र नीति सहीतको हालका सबै दलको विकल्प सहीत पार्टी निर्माणको अभियानमा लाग्न सबैलाई अपिल गरे ।

रावलले आफ्नो अभियानलाई बोल्ने, भाषण गर्ने र नारा लगाउने मात्रै नभएको दाबी गरे । यो देश बोल्ने, देश बचाउने र स्वाधिनताको रक्षा गर्ने अभियान हो, उनले भने । अहिलेका धोत्रा नेता र राजनीतिक दलको विकल्पमा शसक्त देशभक्त राजनीतिक दल निर्माण गछौं, मातृभूमि जागरण यो अभियानको नाम हो, यो पार्टीको नाम होइन्, रावलले भने । उनले सबैको सुझाव र छलफलबाटै पार्टी निर्माण गर्ने बताए । उनले अछाम पछि कैलाली र कंचनपुरमा पनि वडा र पालिका कमिटी गठनको काम सुरु भइसकेको समेत जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस